बधशाला निर्माणमा करोडौंको खर्च, तर उद्घाटन नहुँदै जिर्ण

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको पशु बधशाला निमार्ण सम्पन्न भएको झण्डै तीन बर्ष बितिसक्दा समेत सञ्चालनमा आएको छैन् । भीमदत्त नगरपालिका, पशु पंक्षीबजार निर्देशनालय र तत्कालिन पशुसेवा कार्यालय, महेन्द्रनगरको त्रिपक्षीय सम्झौतामा निमार्ण कार्य थालिइको पशु बधशालाको अवस्था सञ्चालनमा ल्याउन नसक्दा जिर्ण बन्दै गएको छ ।

‘एमसिपिएम’ को सल्लाह अनुसार आर्थीक बर्ष २०६८÷६९ मा निमार्ण थालनी गरिएको पशु बधशाला भवनमा भीनपाले पहिलो चरणमा १० लाख खर्च गरेको थियो । आ.व. २०६९÷७० मा बधशालाको जग हाल्ने ठेक्का हालका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले पाएका थिए । मन्त्री रावललाई १० लाखको मात्रै ठेक्का परेको कञ्चनपुर मण्डी व्यवसायी संघका पुर्व अध्यक्ष तर्कराज भट्ट बताउछन् ।

सुस्त गतिमा रहेको बधशालाको निमार्ण कार्यका लागि जग हाल्न मै २ बर्ष बित्यो ।
पशुपंक्षी बजार निर्देशनालय र पशुसेवा कार्यालय महेन्द्रनगरले तत्काल आर्थीक पाटो उपलब्ध नगराए पछि भीमदत्त नगरपालिकाले ६८ लाख बजेट विनियोजन गरेर बधशालाको निमार्ण कार्य सुस्त गतिमै भएपनि अगाडि बढायो ।

त्यस पछि बाँकि भवन निमार्णको जिम्मा पायो बिष्ट कन्स्ट्रसनले । बिष्ट कन्स्ट्रसन भन्नाले भीनपाका मेयर सुरेन्द्र बिष्टका दाई भुपेन्द्र बिष्ट । ठेक्का थियो ४२ लाखको । बिष्टले भवनको निमार्ण कार्य सम्पन्न गर्न झण्डै ३ बर्ष लगाए ।

भवन निमार्ण भयो, निमार्ण गरिएको भवनमा झ्याल ढोका तयार भएनन् । प्लास्टर, रङ्ग रोगन लगायतका कार्य अझै बाँकि नै रहे ।
तर्कराज भट्टको नेतृत्वमा एक उपभोक्त समिति गठन गरियो । उपभोक्त समितिले रङ्ग रोगन, गोबर ग्यास प्लान्ट, झ्याल ढोका, पानि ट्यांकी, बोरिङ्ग, थ्रि फेजलाइन जडान, वाइरिङ्ग लगायत आठ ओटा स्टिल टेबल बनाउनु तथा खरिद गर्यो । यी सबै कार्य सम्पन्न गर्नका लागि २३ लाख लागत लागेको र आफुले २५ लाखको कोटेशन पाएको बताउछन्, अध्यक्ष तर्कराज भट्ट ।

बधशाला पुर्ण रुपमा तयार भयो । भित्रि सबै भौतिक संरचना तयार भयो । तर उपकरण उपलब्ध भएनन् । खर्च झण्डै दुई करोड नाघ्यो ।
५०÷५० लाख सहयोग पशुपंक्षी बजार निर्देशनालयले र पशुसेवा कार्यलयले गरे । बजेट सकियो बधशाला अझै सञ्चानमा आएन ।

सञ्चालन गर्न आवश्यक उपकरण के कति ?
पशु बधशाला सञ्चालनमा ल्याउनका लागि आवश्यक उपकरणको खाँचो रहेको छ । खरिद गरिएका दुई ओटा चेम्बर(डि फ्रिज) १०/१० लाखका उपकरण प्रयोगमा नभएकोले बिग्रिन सक्ने सम्भावना प्रवल रहेको देखिन्छ । जडान भएको समेत एक बर्ष नाघि सकेको छ ।
कटिङ्ग गर्ने उपकरणको अभाव रहेको छ । झुण्ड्याउन प्रयोग हुँने घिर्नीहरुको ल्याइएका छैनन् । पशु बेहोस पार्ने ‘गन’ । कुखुराका प्वाख निकाल्ने मेसिन लगायतका अन्य अति आवश्यक उपकरण खरिद गरिएको छैनन् ।

नगरपालिका के भन्छ ?
दुई बर्ष अघि नै निमार्ण सम्पन्न गरिएको छ, तर पनि नगरपालिका बधशालालाई आफैले सञ्चालन गर्न नसक्ने तर उद्यमी, व्यवसायीहरुलाई सञ्चालनमा ल्याउनुहोस् । भवन तयार गरेका छौ, भनेर भन्दा पनि व्यवसायीहरुले नटेर्ने गरेको भीनपाका इन्जीनियर हिमालय सिंह ऐरले बताए ।

‘बरु हाम्रो समाज खुला चौकमा खसी, बोका, कुखुरा अन्य मासुजन्य पशु काटेर खान र समाज प्रदुषण गर्न तयार छ तर बधशालाको स्वच्छ र ताजा मासु खान तयार छैन् ।’ उनले भने । व्यवसायीले समेत सञ्चालन गर्न आनाकानी गरेको इन्जीनियर ऐरको दाबी छ ।

के भन्छन्, व्यवसायी ?
‘सरोकारवाला निकाय र जिम्मेवार निकाय भीमदत्त नगरपालिकाले भवन निमार्ण गरेका छौ तपाई बधशालालाई सञ्चालनमा ल्याउनुहोस, भनेर व्यवसायीहरुलाई के हिसाबले भन्दैछ । बधशालाको निमाणर्् कार्य अझै बाँकि छ । फोहोर व्यवस्थापन गर्ने ठाँउ भएको छैन् । उपकरणहरु उपलब्ध गरिएको छैन् । अन्य बाहिरी संरचना र सुरक्षाको व्यवस्था गरिएको छैन् ।’ कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष बिसाल सुनार ।

‘भीमदत्त नगरपालिकाले झण्डै ३० लाखको हाराहारीमा बजेट लगाएर सम्पुर्ण उपकरण र व्यवस्थापनका लागि सम्पुर्ण भौतिक संरचना तयार पार्ने हो, भने हामी भोली देखि नै बधशाला सञ्चालनमा ल्याउन तयार छौ ।’ कञ्चनपुर मण्डी व्यवसायी संघका पुर्व अध्यक्ष तर्कराज भट्ट ।

भीनपाले सब्जीमण्डी भृकुटी उ.मा.वि को पछाडि सार्ने जमर्को गरिरहदा पशु बधशाला अन्यौलमा परेको हो ।