विवादास्पद लेखक रुस्दी लुकेर नबस्ने मनस्थितिमा


पेरिस, (एजेन्सी)
मुस्लिम समुदायलाई आक्रोसित बनाउने गरी ‘सटानिक भर्सेज’ नामक विवादास्पद पुस्तक लेखेबापत इरानी सर्वोच्च धार्मिक नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय अर्थात् फतावा सुनाइएका सलमान रुस्दी अहिले आएर पुनः विस्तारै विद्रोही देखिन थालेका छन्।

सो फतावा जारी गरिएकै कारण प्रसिद्ध साहित्यकार रुस्दी झन्डै ३ दशकदेखि अर्धभूमिगत रहेका थिए। फ्रान्सको राजधानी पेरिस भ्रमणका क्रममा रुस्दीले आफू अब धेरै समय लुकेर बस्न नसक्ने कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन्। यी उपन्यासकारकोे कृति दि सटानिक भर्सेज इस्लाम विरोधी भएको जनाउँदै सन् १९८९ को १४ फेब्रुअरी उनीविरुद्ध खोमेनीले फतावा जारी गरेका थिए। त्यसपछि ज्यान जोगाउन लुकिछिपी हिँड्नु परेपछि उनको जीवनमा सधैंका लागि एकाएक परिवर्तन आएको थियो।

इरानको राजधानी तेहरानले हरेक वर्ष यो फतावालाई नवीकरण गर्दै आएको थियो। महान् कृति ‘गीताञ्जली’का लागि नोबेल पुरस्कारबाट सम्मानित रवीन्द्रनाथ टेगोरपछिका सर्वाधिक सफल भारतीय लेखकका रूपमा रुस्दी चिनिएका छन्। उनले झन्डै १३ वर्षसम्म कसैले आफूलाई सजिलै नचिनून् भन्ने उद्देश्यले नक्कली नाम धारण गरेका थिए। साथै हरबखत उनलाई प्रहरीले सुरक्षा प्रदान गर्दै आएको थियो।

तर रुस्दीले सन् २००१ को ११ सेप्टेम्बरदेखि नक्कली नाम राख्न छाडेका थिए। तेहरानले रुस्दीमाथिको चेतावनी फिर्ता लिएको ३ वर्षपछि उनले नक्कली नाम राख्न छाडेका थिए।
यसअघि पनि पूर्वी फ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण दर्शकै रूपमा उनी सहभागी भएका थिए। तर अमेरिकाको न्यूयोर्कमा भने उनी बिल्कुलै सामान्य जीवन व्यतीत गर्दै आइरहेका छन्।

‘दि सटानिक भर्सेज’ ७१ वर्षीय रुस्दीको पाँचौं पुस्तक हो। अहिले उनको १८औं पुस्तक प्रकाशित भइसकेको छ। हालैमात्र उनको ‘दि गोल्डेन हाउस’ नामक पुस्तक प्रकाशित भएको छ। यो पुस्तक भारतको मुम्बई शहरका एक व्यक्तिको बारेमा रहेको छ।