हिमपातपछि मनाङमा रमाउँदै पर्यटक

0
Shares

थुतेन लामा, मनाङ
हिमपातपछि मनाङमा हिउँ खेल्न आन्तरिक पर्यटकको घुइँचो लागेको छ । शनिबार दिउँसोबाट हिउँ पर्न रोकिएसँगै पर्यटकहरु छिमेकी जिल्ला लमजुङबाट हिउँ खेल्न मनाङको धारापानी अएका हुन् । लमजुङ सदरमुकाम बेंसीशहरबाट करिब ३ घन्टाको मोटरसाइकल यात्रापछि धारापानी आएका लमजुङ मस्र्याङ्दी युवा क्लबका अध्यक्ष विजय श्रेष्ठले बताएका छन् । उनले जीवनमा पहिलोपटक हिउँ छोएको र यस्तो मनोरम दृश्यले स्वर्गको अनुभूति भएको बताएका हुन् ।

त्यस्तै अनुभूति भएको बताउँछन् लमजुङका अनिल थापा । लमजुङबाट आएका १२ जना आन्तरिक पर्यटक धारापनी हुँदै दानाक्यु पुगेका थिए । त्यस्तै धारापानी आसपासका स्थानीय केटाकेटी हिउँमा रमाउँदै उत्साहित भएका छन् । बिहीबार बेलुकीदेखि पुनः परेको हिमपात अहिले पूर्णरुपमा रोकिएको छ । १२ वर्षपछिको मनाङमा यति धेरै ठूलो हिमपात परेको स्थानीयको अनुभव रहेको छ ।

हिमपातले जनजीवन कष्टकर बने पनि हिमपातपछि सामान्य भएको छ । करिब २० वर्षपछि मनाङको सबैभन्दा तल्लो भेग तालमा समेत यसपटक हिमपात भएको छ । समुद्री सतहबाट १ हजार ७ सय मिटर उचाइमा पहिलोपटक हिमपात भएको हो । यस वर्ष पटकपटक गरेर तीनपटक हिमपात भएको हो । सर्वसाधारण र पशुचौपायालाई सास्ती भएको छ । सवारीसाधन अझै सञ्चालन भने हुन सकेको छैन ।

बेंसीशहरदेखि तल्लो मनाङको दानाक्युसम्म सवारीसाधन सञ्चालन भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले मौसममा सुधार आउन थालेदेखि सवारीसाधन सुचारु हुने बताएका छन् । मनाङ सदरमुकाम चामे र माथिल्लो मनाङमा भने सवारी आवगमन हुन सकेको छैन । केही समयमा सुचारु भए पनि पुनः हिमपातले असर गरेको प्रमुख जिल्ला अधिकारी देबकोटाले बताए ।
हिमपात परिरहँदा ढुवानी हुन सकेको छैन । कतिपयले दानाक्युदेखि मानिस र खच्चडबाट ढुवानी गरेर दैनिक जीवनको गुजारा चलाएको चामेका मेखबहादुर विकले बताए । हिमपात रोकिएसँगै स्थानीय र पर्यटक हर्षित भएका छन् । हिँडडुल गर्न र दैनिक जीवनयापनमा सहज हुने जनाएका छन् ।

उता मौसमविद् वरुण पौडेलले यो वर्षको अन्तिम हिमपात भएको र अब मौसमा सुधार आउने बताएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोस्टका अनुसार हिमपातमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरु आवागमन भइरहेको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको पर्यटन सहायक आशिष विकले बताएका छन् । उनका अनुसार दैनिक २० देखि २५ जना आउने गरेका छन् । उनले हिमपात रोकिएसँगै पर्यटकको वृद्धि हुने बताएका छन् ।