नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं जिल्लाका सबै नगरलाई काठमार्डौं महानगरले जनही १ करोड रुपैयाँ उपलब्ध गराएको छ । पार्क निर्माण तथा हरियाली प्रबर्धन र सार्वजनिक जग्गा संरक्षणका लागि खर्च गर्ने गरी रकम उपलब्ध गराएको हो ।
आइतबार आयोजित कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले नगर प्रमुखहरुसँग साझेदारिता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्दै सहयोग रकमवापत्को चेक उपलब्ध गराउनु भयो ।
काठमाडौंका १० नगरपालिकामध्ये टोखा नगरले गएको असार २० गते रकम लगिसकेको छ । आइतबार टोखाबाहेकका नगरलाई चेक प्रदान गरिएको हो । चेक बुझ्न सबै नगरका प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा संघीय तथा प्रदेश सभा सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद कृष्ण गोपाल श्रेष्ठले, उपत्यकाको एकीकृत बिकासका लागि महानगरले गरेको नेतृत्वको प्रशंशा गर्नुभयो । मैले आफ्नो राजनीतिक यात्राका क्रममा यस प्रकारको साझेदारिता पहिलो पटक महसुस गर्न पाएँ । मेरो क्षेत्रका नगर प्रमुखहरुले महानगरलाई बुझाएको योजनाबाट म आफू पनि प्रभावित छु । सफा मुलबाट आएको पानी स्वच्छ हुन्छ ।
महानगरको समृद्धिका लागि छिमेकी नगरको बिकासको प्रसङ्ग उल्लेख गर्दै उहाँले, महानगरले उपलब्ध गराएको सहयोग सही ठाउँमा उपयोग हुने कुरामा आश्वस्त पार्नुभयो । बिकासलाई राजनीतिक चस्माभन्दा माथि राखेर हेर्नुपर्छ अनि मात्र समृद्धि प्राप्त हुन्छ ।
कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकाको एकीकृत बिकासका लागि नगरपालिकाबीच एउटै मत छ । हुन त महानगरभित्र पनि गर्नु पर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौं । तर, छिमेकी नगर समृद्ध नभइ महानगर एक्लै समृद्ध हुन सक्दैन । त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेको हौं कामको प्रगति र योजनाको गहनाता हेरेर यो रकम थप पनि हुन भन्नुभयो ।
छिमेकीसँग मिलेर गर्नु पर्ने धेरै काम छन् । तीमध्ये नाकाबाट महानगरमा भित्रिने सवारी साधन धोइपखाली गरेर मात्र महानगरमा प्रवेश गराउने बिषयमा छिटै नै ठोस काम हुनेछ । यसमा सबै नगरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु, मेयर शाक्यले आगामी कार्यक्रम पनि खुलाउनुभयो । सोही सन्दर्भमा महानगरले अघि सारेका कामको प्रसङ्ग उल्लेख गर्दै उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले, संघीयतालाई दरिलो बनाउन महसुस योग्य काम गर्नु पर्ने बताउनु भयो । ती उदाहरणीय काममध्ये नगर—नगर साझेदारि कार्यक्रम पनि एक हुन सक्छ, उहाँको विश्वाश थियो ।
चेक बुझिसकेपछि सहयोग प्राप्त गर्ने नगरकातर्फबाट बोल्दै गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसेले साँखुको धुलो पाङ्ग्रामा बोकेर सबारी काठमाडौं आउञ्जेल, महानगर धुँवा धुलोमुक्त हुँदैंन ।
काठमाडौंलाई स्वच्छ बनाउन पनि महानगरले छिमेकी नगरको समृद्धिमा सहयोग गर्न जरुरी छ । शंखरापुर नगरका प्रमुख सुवर्ण श्रेष्ठले उपत्यकाको दिगो बिकासमा महानगरले गरेको नेतृत्वको प्रशंशा गर्दै, साझेदारितालाई लाभमा रुपान्तरण आफू पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो ।
महानगरले उपलब्ध गराएको रकम प्रचलित खरिद ऐनको प्राबधानबमोजिम खर्च गर्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरले जुन योजना पेश गरेर रकम प्राप्त गरेको हो, त्यसै योजनामा रकम खर्च गर्नु पर्नेछ ।
यदि यसो नभए, नगरले प्राप्त गरेको रकम महानगरलाई व्याजसहित फिर्ता गर्नु पर्नेछ । महानगरका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौंका १० वटा नगरमध्ये ८ वटाले पार्क तथा हरियाली प्रवर्धनका लागि खर्च गर्ने योजना महानगरमा पेश गरेका छन् भने २ वटाले धाम निर्माण गर्ने योजना अघि सारेका छन् भन्नुभयो ।











प्रतिक्रिया