अन्तर्राष्ट्रिय अंग्रेजी भाषा विज्ञान सम्मलेन शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । शिक्षाशास्त्र संकाय, अंग्रेजी शिक्षा केन्द्रीय विभागको आयोजनामा तीन दिने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा विज्ञान सम्मलेन शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले अंग्रेजी शिक्षा केन्द्रीय विभागको प्रयासबाट गरिएको यस प्रकारको शैक्षिक सम्मेलनबाट त्रिविको सार्बजनिक छवि राम्रो हुँदै जाने बताउनु भयो ।

यस सम्मेलनबाट नयाँ–नयाँ विषयवस्तुमाथि छलफल भई नयाँ ज्ञानको निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । देशभर अंग्रेजी विषय अध्ययन–अध्यापनमा संलग्न व्यक्तिहरुको सहभागितामा भएको यस कार्यक्रमबाट नविनतम ज्ञानको वृद्धि हुँदै जाने बताउनु हुँदै उहाँले अन्तरदेशीय नेटवर्किङ्बाट ज्ञानको आदानप्रदान भई शैक्षिक क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

त्रिवि विश्वका एक हजार उत्कृष्ट विश्वविद्यालयहरुको सूची भित्र परिसकेको बताउनुहुँदै उहाँले यस प्रकारका अन्तर्राष्ट्रिय सम्मेलनहरु र अनुसन्धानात्मक कार्यहरुबाट संकाय र विभाग मात्रलाई नभई सिंगो विश्वविद्यालयलाई नै सहयोग पुग्ने बताउनु भयो ।

त्रिविको दश वर्षे भिजन २०२०–३० निर्माण भई कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुहुँदै उहाँले त्रिविको प्राथमिकतामा यस प्रकारका सम्मेलन र अनुसन्धान कार्यहरु निरन्तर रहने बताउनु भयो ।
नेपालको उच्च शिक्षाको ८३ प्रतिशत जिम्मेवारी त्रिविले वहन गरिरहेको उल्लेख गर्दै उहाँले त्रिवि एउटा विश्वविद्यालय मात्र नभएर देशको शैक्षिक पद्धती भइसकेको धारणा व्यक्त गर्नुभयो ।

सुदुर पश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा जयराज अवस्थीले पूर्व मेचीदेखि पश्चिम महाकाली छरिएर रहेका अंग्रेजी शिक्षाका पाँच ६ पुस्तालाई यो सम्मेलनले एउटै थलोमा जम्मा हुने अवसर जुटाएको बताउनुहुँदै पछिल्लो समय त्रिवि अंग्रेजी शिक्षा केन्द्रीय विभागको नेतृत्व नयाँ पुस्तामा आएसंगै यस प्रकारको अन्तर्रा्ष्ट्रिय सम्मेलनहरु हुन शुरु भएकोमा प्रशंसा गर्नुभयो ।

उच्च शिक्षाको क्षेत्रमा धेरै चुनौतीहरु रहेको हुँदा शिक्षण प्रक्रियामा विभिन्न विश्वव्यापी विधिहरु प्रयोगमा ल्याउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षाशास्त्र संकायका डिन प्राडा कृष्णप्रसाद गौतमले कक्षाकोठाको पठनपाठन मात्र अहिलेको परिवेशमा पर्याप्त नहुने हुँदा यस प्रकारका सम्मेलनहरु आयोजना गरिएको बताउनु भयो ।

उहाँले शिक्षाशाास्त्र संकाय अंग्रेजी शिक्षा केन्द्रीय विभागले गर्ने यस प्रकारका शैक्षिक गतिविधिले अरु विभागहरुलाई अतिरिक्त क्रियाकलापतर्फ प्रेरित गरिरहेको धारणा व्यक्त गर्नुभयो । सम्मेलनले संकायकै शैक्षिक कार्यक्रमहरुमा मद्दत पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्राडा सञ्जिव उप्रेतीले अंग्रेजी शिक्षा भनेको इतिहास, राजनीति र संस्कृतिसंग समेत जोडिएको हुनाले समाजमा यसको महत्वपूर्ण स्थान रहने धारणा व्यक्त गर्नुभएको थियो । विश्वविद्यालयहरुले कक्षाकोठा शिक्षणको वातावरण संगसंगै अतिरिक्त क्रियाकलापको रुपमा अनुसन्धानमुलक यस्ता सम्मेलनहरु समेत नियमित रुपमा गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नुभयो । शिक्षाशास्त्र संकायका प्रमुख डा. दीपबहादुर अधिकारीले नेपालका एघार विश्वविद्यालयहरुमध्ये त्रिवि सबैभन्दा ठुलो विश्वविद्यालय भएको र यसले राष्ट्रिय अन्तर्रा्ष्ट्रिय सम्मेलनहरु नियमित रुपमा गर्दै आएको धारणा व्यक्त गर्नुभयो ।

यस्ता कार्यक्रमहरुले फरक फरक परिवेशबाट सहभागी हुने सबैलाई विषयवस्तुहरुको मात्र आदानप्रदान गर्ने नभई व्यवहारिक अनुभव र संस्कृतिहरुको आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राडा अञ्जना भट्टराईले सम्मेलन ऐतिहासिक महत्वको रहेकोले सबैमा नयाँ ज्ञानको सिकाई हुने र शैक्षिक क्रियाकलापमा टेवा पुग्ने धारणा राख्नुभयो ।

अंग्रेजी शिक्षा केन्द्रीय विभागका विभागीय प्रमुख डा. प्रेम फ्याकले गत वर्ष प्रथम सम्मेलनबाट उत्प्रेरित हुँदै यो दोस्रो सम्मेलनसम्म आइपुगेको बताउनु भयो । उहाँले अंग्रेजी भाषा विज्ञानका अनुसन्धानकर्ताहरु, शिक्षक, विद्यार्थी सबैको लागि सम्मेलनले महत्वपूर्ण सन्देश प्रवाह गर्ने विचार व्यक्त गर्नुभयो ।

सम्मेलनको मुख्य उद्देश्य देश विदेशमा रहेका अंग्रेजी शिक्षा पठनपाठनमा संलग्न सबै पुस्ताको बीचमा सञ्चार र सहकार्यको वातावरण निर्माण गर्दै अन्तरक्षेत्रीय एवं अन्तरदेशीय अनुभव र संस्कृति समेतको आदानप्रदान गर्नु रहेको बताउनु भयो । तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न व्यक्तित्वहरुको सम्बोधन, ९ वटा कार्यशाला र ४५ विषयवस्तुमा अलग अलग कार्यपत्रहरु प्रस्तुत हुने र कार्यपत्रहरुउपर समुहगत छलफल हुनेछ ।