कपिलवस्तुमा अझैँ साढे १२ प्रतिशतमा हात्तीपाइले संक्रमण

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुमा अझै साढे १२ प्रतिशतमा हात्तीपाइलेको संक्रमण भेटिएको छ । जिल्लामा १० वर्ष हात्तीपाइले अभियान संचालन गरिएपनि अझै संक्रमण देखिएको हो । सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या १ प्रतिशतभन्दा कममा झार्ने सरकारी योजना छ । तर हात्तीपाइलेका रोगीहरुको संख्या भने घटेको छैन ।

हात्तीपाइले रोगी बढी रहेको जिल्लामा सूचीकृत जिल्ला कपिलवस्तुमा बिगत २०६४ देखि लगातार अभियान संचालन गरिएको छ । अबको दुईवर्षमा यसको निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

गतवर्षको फागुनमा जिल्लामा अन्तिम पटकका लागि भन्दै १०औं बर्षको अभियान सम्पन्न गरिएको थियो । १० वर्षसम्म अभियान संचालन गर्दा समेत प्रभावकारी नभएपछि जिल्लामा नयाँ रणनीतिका साथ यसपाली अभियान संचालन गर्न लागिएको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले बताउनुभयो ।

जिल्लाको चन्द्रौटामा हात्तीपाइले रोग बिरुद्धको आमऔषधि सेवन सम्बन्धी नगरस्तरीय अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले अभियानबारे जानकारी दिनुभयो । कार्यक्रमलाई सहजीकरण गर्दै प्रमुख क्षेत्रीले यसबर्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाइने बताउनुभयो । बिगतमा महिला स्वयम्सेविकामार्फत औाषधी खुवाइने गरिए पनि यसवर्ष घरघरमा पुगेर स्वाथ्यकर्मीको निगरानीमा औषधि खुवाइनेछ, उहाँले भन्नुभयो ।

फागुन १५ गतेदेखि शिवराज नगरपालिकाभित्र औषधि खुवाउन सुरु गरिने क्षेत्रीले बताउनुभयो । हात्तीपाइले रोग लागिसकेपछि उपचार सम्भव नभएकाले औषधि सेवनमा कोही नछुट्न उहाँले सबैलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले हात्तीपाइले रोगको संक्रमणबाट बच्न अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने बताउनुभयो । सरकारले १० वर्षसम्म अभियान संचालन गर्दा समेत जिल्लामा अभियान सफल हुन नसकनु दुखद भएको वताउँदै औषधि सेवन गरी आफूसँगै अरुलाई समेत वचाउन क्षेत्रीले आग्रह गर्नुभयो ।

फागुन १५ गतेदेखि शिवराज नगरपालिकामा ४९ जना स्वाथ्यकर्मी औषधि सेवन गराउन घरदैलोमा खटिने उहाँले बताउनुभयो । अन्तरक्रियामा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, स्वाथ्यकर्मी, संचारकर्मी लगायतले अभियानलाई तिव्र प्रचारप्रसार गरी सफल वनाउनुपर्नेमा जोड दिएका थिए ।

हात्तीपाइले उच्चेरिया बाक्रोफेटी नामक परजीविबाट लाग्दछ । यो परजीवि एक ब्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाईबाट सर्छ । यो रोग बिरुद्ध एडबेन्डाजोल र डिइसी नामक औषधी दिइन्छ र यो पूर्णतया सुरक्षित हुने स्वास्थ्यकर्मी बताउछन् ।