किसानलाई घाटाः १० मेट्रिक टनले सुन्तला उत्पादनमा गिरावट

0
Shares

गणेश घिमिरे, इलाम ।
इलामे कृषकले सुन्तलाको खेती घटाउँदै लगेका छन् । खेती घटेसंगै बिभिन्न रोगको संक्रमणका कारण उत्पादन पनि बर्षेनि घटिरहेको छ । जिल्लामा गतबर्षको तुलानमा यो बर्ष सुन्तला उत्पादन १० मेट्रिक टनले घटेको छ । जिल्लामा सुन्तला खेतीपनि २ सय २२ हेक्टरले घटेको छ ।
गत आर्थिक बर्ष ०७४–०७५मा जिल्लामा तीनहजार तीनसय २४ हेक्टरमा सुन्तला खेती गरेकोमा तीनसय ५ मेट्रिक टन उत्पादन भएको थियो । तर चालु आर्थिक बर्षमा कृषकले खेती घटाएको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कले जनाएको छ । केन्द्रका अनुसार आर्थिक बर्ष ०७५–०७६ मा तीनहजार एकसय २ हेक्टरमा मात्र सुन्तला खेती भएको छ । जसबाट २ सय ९५ मेट्रिक टन मात्र उत्पादन भएको छ । सुन्तला खेतीमा बिभिन्न किसिमको रोगको सङक्रमण देखिएर खेती नै मासिन थालेपछि कृषकहरुले सुन्तला खेती घटाएका हुन् । विगतमा बोटले नथाम्ने गरी लटरम्म फल्ने सुन्तलाका बोट अहिले मासिन थालेको छ । जसबाट इलामे कृषक किसान चिन्तित छन् ।
सुन्तलाका पकेट क्षेत्र भनिएको जिल्लाको इलामनगरपालिकाको ( वडा नम्बर ८, सुम्बेक, सोयाक, गोदक, बरबोटे) माइजोगमाई गाउँपालिकाको (नामसालिङ्ग, सोयाङ्ग) रोङ गाउँपालिकाको (जिर्मले) जस्ता ठाउँमा सुन्तलाको बगान मासिने क्रममा रहेको छ । सुन्तला पकेट क्षेत्र मानिएको ठाउँहरुमा कृषकहरुले अन्य खेती लगाउन थालेका छन् ।  धनकुटाको पाख्रीबासबाट आएका वैज्ञानिकले अनुसन्धान गर्दा यहाँको सुन्तलामा ‘सिटरस’ भाइरसको संक्रमण भएको पत्ता लगाएको थियो । तर यसको रोग नियन्त्रणका लागि सम्बन्धित निकायबाट कुनै पहल हुन नसकेको कृषकहरुले बताए ।
सुन्तलाको बोट र जरा कुहिएर सुक्ने तथा भाइरस संक्रमणका कारण बोट मासिने समस्या रहेको किसानहरूले बताए । जिल्ला कृषि बिकास कार्यालय खारेजीमा परेर कृषि ज्ञान केन्द्र स्थापना भएपनि सुन्तला जातमा नयाँ कार्यक्रम केही पनि आउन सकेको छैन । क्षेत्रफल र समस्या धेरै भएकाले कार्यक्रम प्रभावकारी बन्न नसकेको कृषि ज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ शाहले बताए । जिल्लामा विगत ३–४ वर्षयता सुन्तलाको उत्पादन र उत्पादकत्व घट्दै गएको छ ।
इलाम नगरपालिकाले चालेको हरित नगर अभियान अहिले निष्प्रभावि बनेको छ । इलाम नौ बर्षअघि नगरमा पोलिथिन झोला निषेध अभियान सफल भएसँगै हरित नगर अभियानको घोषणा सुरु भएको थियो । वातावरणमा प्रतिकूल असर पार्ने झोला नियन्त्रणमा स्थानीयले साथ दिएपछि हौसिएको नगरपालिका कार्यालयसहित सरोकारवालाले हरित नगर अभियान पनि उसैगरी सम्पन्न गर्ने लक्ष्यसाथ योजना अघि सारेका थिए । मानव क्रियाकलापलाई वातावरणमैत्री बनाउनु मुख्य उद्येश्य रहेको थियो ।
नगरवासीको आयस्तर उकास्दै उन्नत अर्थ व्यवस्था यसको परिकल्पना थियो । हराभरा सहरसँगै हरेक क्रियाकलाप वातावरणमैत्री बनाउने यो अभियान अनुसार नगरका हरेक घरमा हरियो रंग लगाउनुपथ्र्यो । नगरपालिका कार्यालयले पनि घरधनीलाई यस्तो रंग लगाउँदा विभिन्न सेवा सुविधा दिने घोषणा गर्दै सिंगो इलाम बजारलाई हरियो पहिचान दिने कोसिस गरेको थियो ।
केही समय यो अभियानले गति लिएपनि अहिले हरित नगरको अवधारणासमेत ओझेल पर्दै गएको छ । जसकारण घरमा हरियो रंग पोत्ने चलन पनि हराउँदै गएको छ । बजार क्षेत्रका थुप्रै घरले उतिबेला हरियो रंगले घर रंगाए । अहिले यो अनिवार्य व्यवस्था छैन, जसका कारण रुचिअनुसार फरक रंग लगाउने पनि बढिरहेका छन् । एकातिर चियाबारीको हरियाली ।

अर्कोतर्फ खोला, खोल्सा र खाली ठाउँमा पनि रूखबिरुवा । यही सौन्दर्यभित्र बजारलाई पनि हरियो रंग भर्ने कामलाई स्थानीयले पनि स्विकारेका थिए । तर हरितनगर अभियानलाई नगरपालिकाले प्राथमिकतामा राख्न छाडेसँगै रंग लगाउने क्रम टुटदै गएको छ । आफ्नै सौखले घरलाई अझै हरियो बनाउने भने रहेका छन् । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले हरित अभियानलाई नियमित राखेको बताउनुभयो । उहाँले तर हरियो रंग लगाउने कुरा भने प्राथमिकतामा नभएको उल्लेख गर्नुभयो ।

इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा सञ्चालित दुईदिने स्वास्थ्य शिविरमा १५ सयले स्वास्थ्य जाँच गराएका छन् । देउमाई नगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा भएको शिविरमा जिल्लाका १५ सयले स्वास्थ्य जाँच गराएका हुन् । स्थानीय मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा मुटुरोग, प्रसुति तथा स्त्री रोग, बालरोग, मानसिक तथा नसा रोग, हाडजोर्नी, छाला तथा यौन, नाक कान घाँटी, आँखा र दन्त रोगसम्बन्धी परीक्षण तथा भिडियो एक्सरे, इसीजी साथै ल्याब टेष्ट निःशुल्क सेवा उपलब्ध गराइएको वडाअध्यक्ष राजेन्द्र वाँस्तोलाले जानकारी दिनुभयो । शिविरमा नोबेल अस्पताल विराटनगरका चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।
सूर्योदय नगरपालिकाले नगरका १४ वटै वडामा बाह«मासे सडक निर्माण सुरु गरेको छ । सो क्रममा वडा नम्बर ९ स्थित बरबोटे गहिरिगाउँ कजेनी सडक खण्डको मेयर रणबहादुर राईले शिलन्यास गर्नुभएको छ । सो सडक खण्डको कालो पत्रे गर्ने अवधारण अनुरुप बाह«मासे सडक निर्माणको सुरुवात गरेको हो ।  नगरपालिकाको ५० लाख र स्थानीय उपभोक्ताको १० लाख लागतमा शुरु भएको सडकको स्तर उन्नतीको काम २ महिना भित्रमा सम्पन्न हुनेछ । सो सडक अन्तरगत ७ सय मिटर सडक निर्माणको काम हुने वडाध्यक्ष देवेन्द्र शर्माले बताए ।
सडकको स्तर उन्नती गरी कालोपत्रे समेत गरिने छ । सडक बिस्तार गरि सो वडाको सिमाना पुलडाँडासम्म पुरयाईने उपभोक्ता समितिका सचिव गीता प्रसाद तिम्सीनाले बताउनुभयो । नगरबाट संचालित बाह्रमासे सडक योजना अन्तरगत वडा नम्बर ९, ६ , ८, ११ र १२ का सडक उपभोक्ता समिति मार्फत गरिने छ । यस्ता योजनालाई नगरले ५० लाखका दरले बजेट बिनियोजन गरेको छ ।
धनकुटाको चौविसे गाउँपालिका ८ मासिङटारमा मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १५ प ३७६४ नम्बरको मोटरसाईकल सिक्ने क्रममा अनियन्त्रित भई सडकबाट १२ मिटर तल खसेर दुर्घटना हुँदा सोही स्थान बस्ने बर्ष २४ को मिलन कार्की घाइते भएका थिए । गम्भीर घाइते कार्कीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गएराति देखि सामान्य बर्षा भएपछि इलामका उत्तरी क्षेत्र सहित जिल्लाभर अत्याधिक चिसो बढेकाले जनजीवन कष्टकर भएको छ । जिल्लाका उत्तरी क्षेत्रका बिभिन्न स्थानमा बर्षासंगै हिमपात समेत भएको स्थानीयले जनाएका छन् । सन्दकपुर, कालपोखरी, जौवारी, मेघ्मा, तुमलिङ क्षेत्रमा हिमपात भएको मिङमा शेर्पाले बताउनुभयो । । कालपोखरी, जौवारी, तुमलिङ, मेघमालगायका सीमावर्ती बजारहरु चिसोका कारण सुनसान वनेका छन् ।  अत्याधिक चिसोका कारण पशुपालक किसान पनि समस्यामा परेका छन् । चिसाको कारण बालबच्चा र बृद्धबृद्धा बढि प्रभावित बनेका छन् ।