कर्मचारी नियुक्ति विवाद: त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी

0
Shares

सरोज यादव, विराटनगर
ज्यालादारीमा कर्मचारी राख्ने बिषय विवादित भएपछि विराटनगरस्थित त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी भएको छ । विधि र प्रक्रिया मिचेर कर्मचारी राख्न खोजिएको भन्दै तीन विद्यार्थी संगठनले कार्यालय प्रमुखको कोठामा तालाबन्दी गरेका हुन ।

मासिक ज्यालादारीमा कर्मचारी राख्ने बिषय विवादित भएपछि विराटनगर स्नातकोत्तर क्याम्पस परिसरमा रहेको त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन । माघ २० गते अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघको क्याम्पस इकाईले तालाबन्दी गरेकोमा संघीय विद्यार्थी फोरमले पनि तालाबन्दी भएकै कोठामा आफ्नो ताला थप गरेको छ ।

मासिक ज्यालादारीमा विभिन्न पदमा ५ जना कर्मचारी राख्ने भन्दै २०७० साल साउन ६ गते प्रकाशन गरिएको सुचना हाल आएर प्रकृयामा लान खोज्दा विवादित भएको हो । परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत केहि कर्मचारीहरुले विधि र प्रकृया मिचेर आफ्न्त र नातागोतालाई भर्ती गर्ने प्रयास गरेको आरोप लगाउदै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन । पदपुर्तिमा ढिलाईगर्दा पछि सो बिषयलाई लिएर आवेदक चन्द्रकला भट्टराईले त्रिवि परीक्षा नियन्त्रण कार्यालयविरुद्ध उच्च अदालत विराटनगरमा मुद्धा दायर गरेकी थिइन ।

सो मुद्धामा अदालतले निवेदकको पक्षमा फैसलागर्दै उत्प्रेषणयुक्त परमादेश गर्दै विधिसम्मत ढंगले प्रक्रिया अघि बढाउन आदेश गरेको थियो । त्यसयता कार्यालयले प्राडा सोम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय पदपुर्ति समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो । तर त्यसरी बढाइएको प्रक्रिया विधि सम्मत नरहेको विद्यार्थी नेताहरुको भनाई छ ।

पदपूर्ति समितिले कर्मचारीहरुसंगको मिलेमतोमा सर्ट लिस्ट ननिकालीकन करारमा नातागोताका ब्यक्तिलाई राख्न खोजेको उनिहरुको दाबी छ । सहपरीक्षा नियन्त्रक अर्जुन विक्रम खड्काले भने सबै प्रक्रिया विधि सम्मत रहेपनि विद्यार्थी संगठनहरुले अनावश्यक अड्को थापेको बताएका छन । ७० सालमा भण्डारपाल–१ जना,लेखापाल–१,कम्प्युटर अपरेटर २ र १ जना ड्राइभर समेत गरेर ५ जना पदपुर्तिकालागि भन्दै स्थानिय उदघोष दैनिकमा सुचना प्रकाशित गरिएको थियो । जसकालागि ४९ जनाले आवेदन फारम भरेका थिए । सो समयमा समेत विवाद भएपछि पदपुर्तिको प्रक्रिया रोकिएको थियो ।