समयमा भुक्तानी नगरे कारबाही

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
निजीक्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवाबापतको करिब १८ करोड रुपियाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको विमानस्थल कार्यालयले जनाएको छ।

हिमालयनले पुस २७ गते बक्यौता रकममध्यको ५० लाख रुपियाँ भुक्तानी गरेको विमानस्थल कार्यालयले जनाएको छ। चाँडै बक्यौता रकम तिर्नै भनेको १ महिनाको समयसीमा दिइएको भए पनि हालसम्म सो रकम भुक्तानी नभएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताउनुभयो। ‘एयरलाइन्सको बक्यौता भुक्तानीका लागि १ महिनाको समयसीमा दिएर पत्र पठाएका छौं।’ –प्रमुख क्षेत्रीले भन्नुभयो। एयरलाइन्सले मागेको समयमा भुक्तानी नभए कानुनी प्रक्रिया अपनाई कारबाही गरिने उहाँले बताउनुभयो।

विमानस्थल कार्यालयलाई भुक्तानी गर्नुपर्न बक्यौत भुक्तानी नगर्दा बक्यौता रकम चुलिएर दिनदिनै बढ्दै जाने भएकाले हाल करिब १८ करोड रुपियाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको प्रमुख क्षेत्रीको भनाइ छ। नेपाल–चीन संयुक्त लगानीमा २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। यसबाहेक हिमालयले मलेसियाको क्वालालम्पुर, साउदीको अरबको दमाम, यूएईको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ।

सौर्यको उडान अवरुद्ध
३ करोड रुपियाँभन्दा बढीको बक्यौता भुक्तान गर्न नसकेर निजी क्षेत्रको हवाई सेवा प्रदायक सौर्य एयरलाइन्सको मंसिर २० बाट सम्पूर्ण उडान अवतरण बन्द भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता नतिरे पछि विमानस्थल कार्यालयले मंसिर २० बाट सौर्यको उडान अवतरणमा रोक लगाएको हो। विमानस्थल कार्यालयले ३ करोड रुपियाँभन्दा बढी बक्यौता नतिरेपछि उडान बन्द गरिएको थियो। हाल सो रकम बढेर गएको विमानस्थल कार्यालयले जनाएको छ।

एयरलाइन्स कम्पनीलाई विमानस्थल कार्यालयले पटकपटक बक्यौता तिर्नका लागि समयसीमा दिएको भए पनि भुक्क्तानी नगरेपछि विमानस्थल कार्यालयले नियमित उडान बन्द गरेको थियो।

हालसम्म विमानस्थल कार्यालयलको बक्यौता दिन प्रतिदिन वृद्धि भएर ४ करोड रुपियाँभन्दा बढी भएको विमानस्थल कार्यालयले जनाएको छ। उडान अवरोध भएको २ महिना पूरा हुँदासम्म कम्पनी सम्पर्कमा नआएको विमानस्थल प्रमुख क्षेत्रीले बताउनुभयो।

एयरलाइन्सको पुरानो व्यवस्थापनदेखि नै कार्यालयको बक्यौता रकम बाँकी रहेको थियो। नयाँ व्यवस्थापन आएसँगै बक्यौता भुक्तान हुने आश्वासन पाएइ पनि नयाँ व्यवस्थापनले थोरै मात्र भुक्तानी गरिरहेको छ। ठूलो रकम भने भुक्तानी नभएको कार्यलयले जनाएको छ। विमानस्थल कार्यालयले करिब १० महिनादेखि भुक्तानीको ताकेता गर्दा हालसम्म १ करोड ७० लाख रुपियाँ भुक्तान गरिसकेको छ, भने अब बाँकी ४ करोड रुपियाँँभन्दा बढी रकम भुक्तान गर्न बाँकी रहेको छ। एयरलाइन्स आर्थिक संकट बढ्दै गएपछि साउनमा एयरलाइन्स बिक्री गरेको थियो। नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो। सौर्यसँग सीआरजे २०० सिरिजका दुईवटा विमान रहेका छन्। एउटा जहाजले नियमित उडान गरिरहेको छ। अर्को विमान प्राविधिक समस्या भएकाले मर्मतका क्रममा रहको छ।

विमानस्थल सेवा शुल्क नियमावली २०६७
विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिलजारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छुट दिने व्यवस्था विमानस्थलले गरेको छ। त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा १ रुपियाँ पनि जरिवान शुल्क तिर्नुपर्दैन। ३० दिनदेखि ४५ दिनसम्म ५ प्रतिशत जरिवाना लाग्ने गरेको छ। ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिबान तिर्नुपर्न नियमावलीमा व्यवस्था छ। ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्ने नियमावलीमा व्यवस्था रहेको छ। विमानस्थलले विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा काउन्टर, होडिङ र्बाड विमानस्थलभित्र सञ्चालन गरेको पसल, भण्डारण, यात्रुलाई सेवाप्रवाह गरेको संस्थाले लिएको विमानस्थलभित्रको शुल्कको लिने गरेको छ।