मेलम्ची थप अन्योलमा, इटालियन कम्पनीसँग ठेक्का तोडेको घोषणा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनाको मुख्य निर्माण कम्पनी इटालियन ठेकेदार कम्पनी सीएमसी दी रिभेनासँगको ठेक्का तोडेको घोषणा गरेको छ।

निर्माणस्थल छोडेर स्वदेश फर्केको डेढ महिना बढी भए पनि नेपाल फर्किने नदेखेपछि समितिले ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो। कम्पनीले यो अवधिमा केही प्रतिक्रिया नजनाएपछि बिहीबार उक्त कम्पनीसँग समितिले एकतर्फीरूपमा ठेक्का तोडेको हो।

समितिले इटालियन कम्पनी सीएमसीलाई माघ ६ गते १४ दिने समयसीमा राखेर पत्राचार गरेको थियो, तर ठेकेदार कम्पनी सीएमसीबाट कुनै आधिकारीक जवाफ नआएपछि कानुनी जटिलता पैदा भएको भन्दै ठेक्का सम्झौता रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

‘यस्तो परिस्थितिमा ठेक्का सम्झौता रद्द नगर्दा थप अन्योल पैदा हुन सक्ने र नेपाल सरकारले फिर्ता लिएको बैंक ग्यारेन्टी रकमसमेत गुम्न सक्ने जोखिम आउने भएकाले मेलम्ची खानेपानी विकास समितिको मिति २०७५ माघ २४ गते बसेको बोर्ड बैठकले सीएमसी दि राभेनासँग ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको छ’ –समितिले भनेको छ।

ठेक्का तोडिएको परिस्थितिमा आयोजनाको बाँकी काम सम्पन्न गर्न समितिले नेपाल सरकारसमक्ष विकल्पसहितको प्रताव तयार गर्ने र नेपाल सरकारले गर्ने निर्णय दृढतापूर्वक कार्यान्वयन गरी अघि बढ्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।