पर्सा राष्ट्रिय निकुञ्जकोे सुरक्षामा सीसी क्यामेरा

0
Shares

वन्यजन्तुको सुरक्षा गर्दै नेपाली सेना
मधुसुदन रायमाझी, काठमाडौं
पर्सा राष्ट्रिय निकुञ्जमा तीव्र गतिको सवारीसाधनका कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ ।

निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गमा तीव्र गतिमा सवारीसाधन सञ्चालन हुँदा सडक हुँदै ओहोरदोहोर गर्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा वन्यजन्तु घाइते हुनुका साथै मृत्युसमेत हुने गरेको छ ।

निकुञ्जभित्र खुला सडक हुने भएकाले सवारीसाधन तीव्र गतिमा चल्ने गरेको छ । निकुञ्जको सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले सवारीसाधनलाई सीमित गतिमा सञ्चालन गर्न बारम्बार आग्रह गरेपनि चालकहरुले कार्यान्वयन गरेका छैनन् । बिहान र साँझपख वन्यजन्तुहरु आफ्नो बासस्थान जानका लागि सडकबाट आवतजावत गर्ने क्रममासवारी साधनले ठक्कर दिने गरेको छ ।

केही महिनाअघि तीव्र गतिको कारसित ठोकिक्दा राजमार्ग पार गर्ने क्रममा एक दुर्लभ पाटेबाघ दुर्घटनामा परेको थियो । नेपाली सेना र निकुञ्ज संरक्षणमा कार्यरत सरकारी निकाय एवं मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिले अहिलेसम्म बाघको अवस्था पत्ता लगाउन सकेको छैन ।
निकुञ्जमा संरक्षित हनुमान बाँदर, चित्तल, साम्बरलगायतका वन्यजन्तुको सवारीसाधनमा ठोक्किएर मृत्यु भइसकेको छ । वन्यजन्तु रमाउने समय विशेष गरी साँझ र बिहानपख राजमार्गमा दुर्घटना पर्नेक्रम पछिल्लो समय बढ्दो छ ।

बाक्लो हुस्सु, राजमार्गमा गुड्ने सवारीसाधनको तीव्र गतिले वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि राजमार्गमा सीसी क्यामेरा जडानको कामलाई अगाडि बढाउने गृहकार्य पर्सा राष्ट्रिय निकुञ्जले गरेको छ । बारा, पर्सा र मकवानपुर जिल्लाका ६२७ वर्ग किमि भूभाग निकुञ्जले ओगटेको छ । यातायात आवागमनका दृष्टिले अति व्यस्त सो राजमार्गको करिब ४५ किलोमिटर सडक निकुञ्ज क्षेत्रभित्र पर्दछ ।

विसं २०४० वैशाख ५ गते घोषणा गरिएको ती भूभागको आरक्षण क्षेत्रलाई विसं २०७४ वैशाख २५ गते राष्ट्रिय निकुञ्जमा विस्तार गरिएको थियो । सरकारले ती तीन जिल्लाका तत्कालीन निर्मलबस्ती, सुवर्णपुर, जिराभवानी, सिमरा, अमलेखगन्ज, चुरियामाई, पद्मपोखरी, हाँडिखोला र मनहरि गाउँका २८५ वर्ग किलोमिटर क्षेत्रफललाई समेटी विसं २०६२ असार १३ गते मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो ।

निकुञ्जको सुरक्षा र वन्यजन्तुको संरक्षणमा नेपाली सेनाको तारादल गणले आधुनिक सूचना प्रविधिमार्फत सुरक्षा गरिरहेको छ । राजमार्गमा हाल जडान भएका सीसी क्यामेराले निगरानी गर्न कठिनाइ भएको बताउँदै सेनाल थप सीसी क्यामेरा जडान गर्न प्रस्ताव गरेको छ । सेनाले पैदल, साइकल, हात्ती सवार तथा गाडीमार्फत गस्ती गर्दै आएको छ ।

राजमार्गका आवश्यक स्थानमा सीसीटिभी जडान गरी सवारीसाधन आवतजावत, वन्यजन्तु सवारीसाधन ठोक्किए तत्काल सुरक्षाकर्मी परिचालन गर्ने प्रविधि सेनाले अपनाएको छ ।

वन्यजन्तुको बासस्थान, जैविक विविधता, बिभिन्न प्रजातिका वनस्पति तथा सिमसारका दृष्टिकोणले यो निकुञ्ज विश्वकै उत्कृष्टमा पर्दछ । अरु निकुञ्जमा कमै देखिने जङ्गली कुकुर (ढोले) हुडार÷हड्डी बाघ, चौसिङ्गा, सालक, सुनगोहोरो, अजिङ्गर, राजधनेश यहाँका विशेषता मानिन्छ । पाटे बाघ, जङ्गली हात्ती, गैँडा तथा गौरी गाई यहाँका प्रमुख विशेषता हुन् ।

निकुञ्जभित्रका नदीजन्य पदार्थ उत्खनन तथा संकलन तीव्र गतिमा अगाडि बढेको छ । स्थानीय तहको कार गठन भएपछि झन निकुञ्जभित्रका नदी तथा खोलाबाट बालुवा, गिट्टी तथा ढुङ्गाजस्ता नदीजन्य सामग्रीको उत्खनन गर्ने क्रम बढेको छ । वन्यजन्तु संरक्षण ऐन २०२९ ले निकुञ्ज क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्यलाई निषेध गरेको छ ।

तीव्र गतिमा सवारी सञ्चालन हुँदा वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि नेपाल सेनाले पर्सा राष्ट्रिय निकुञ्जमा सीसी क्यामेरामार्फत गति नियन्त्रण गर्ने भएको छ ।

निकुञ्ज पर्यटकीय गन्तव्यका रूपमा पनि विकास हुँदै गएको छ । केहीवर्ष अघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्जबाहेक नजिकमा पर्यटकीय गन्तव्य स्थल नरहेको प्रदेश–२ मा पर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्यस्थलका रूपमा विकसित हुँदै गएको हो ।

नेपाली सेनाका प्रवक्ता यमप्रसाद ढकालले निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षा गर्न नेपाली सेना अहोरात्र खटिएको बताउँदै प्रविधिको प्रयोगलाई पनि उच्च महत्व दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘निकुञ्जभित्र पर्ने राजमार्गमा तीव्र गतिमा सवारी साधन सञ्चालन हुँदा वन्यजन्तुका मृत्यु हुने गरेको छ । सवारीसाधनको गति नियन्त्रण गर्न सीसी क्यामेरामार्फत निगरानी गर्छाैं ।’ पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखिएको बताउँदै उहाँले वन मन्त्रालय र विभागसँग समन्वय गरेर आगामी दिनमा सिसी क्यामेरा थप गर्नका लागि गृहकार्य भइरहेको बताउनुभयो ।