शिक्षक हटाउन मिटुको प्रयोग, आफ्नै बहिनी प्रअ बनाउने चलखेलमा सिटौला

0
Shares

ईश्वरराज ढकाल, ललितपुर
विद्यालय बिरुद्ध आन्दोलन गर्ने शिक्षकलाई हटाउन पूर्वछात्रा प्रयोग गरीमिटुमार्फत शिक्षकले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

करिब १५ वर्षअघि ललितपुरको लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वछात्राले मिटुमार्फत शिक्षकले यौन दुव्र्यवहार गरेको उल्लेख गर्दै ह्यास ट्याग गरेका थिए । लगत्तै विद्यालयले करिब १५ वर्ष अध्यापनरत एक शिक्षकलाई निलम्बन गरिसकेको छ ।

डेढ महिनादेखि अमेरिका बस्दै आएका विद्यालयका प्रधानअध्यापक माधव सिटौलाले सहायक प्रअ रहेकी आफ्नी बहिनी गीता सिटौलालाई प्रअ बनाउन प्रपञ्च गर्दै मिटुमार्फत पूर्वविद्यार्थी प्रयोग गर्दै पुराना शिक्षक हटाउन थालेपछि सो विद्यालयमा तनाव बढेको हो ।

गएको चैत २४ गतेदेखि विद्यालयकी सहायक प्रअ सिटौलालाई हटाउनुपर्नेलगायतको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकलाई हटाउन मिटुमा उल्लेख भएका विषयलाई हवाला दिँदै शिक्षकलाई यौन दुव्र्यबहार गरेको आरोप लगाउन थालिएको निलम्बित शिक्षकको आरोप छ ।
करिब दुई साता अघि निलम्वनमा परेका शिक्षक बोधराज त्रिपाठीले विद्यालय प्रशासनको मिलोमतोमा मिटुमार्फत पूर्वविद्यार्थी प्रयोग गरी आफूलाई निलम्बन गरेको आरोप लगाउनुभएको छ ।

‘मैले कुनैपनि विद्यार्थीमाथी यौन दुव्र्यवहार गरेको भए १५ वर्ष अघि किन म माथि कारबाही भएन ?’ –उहाँको प्रश्न थियो । पूर्वछात्रा रचना दाहाल, रोशा पोखरेललगायत मिटुमार्फत आफूमाथि ती शिक्षकले यौन दुव्र्यहार गरेको उल्लेख गरेका थिए ।

पूर्वविद्यार्थी रचनाले शिक्षक त्रिपाठीलाई आरोप लगाएपछि विद्यालय प्रशासनले त्रिपाठीलाई निलम्बन गरेको थियो । करिब चार दिनअघि अमेरिकामा रहेकी पूर्वविद्यार्थी रोशा पोखरेललगायतले सो विद्यालयमा नेपाली शिक्षक सुमन्तबहादुर खत्री र गोकुल शर्मामाथि पनि त्यस्तै आरोप लगाउदै मिटु मा ह्यास ट्याग गरेकी थिइन ।

पुराना शिक्षकको विरुद्धमा नियमित रुपमा आरोप आउन थालेपछि विद्यालयका शिक्षक थप आन्दोलित भएका छन् । ‘मैले एउटा विद्यार्थीमाथि अश्लील क्रियाकलाप गरेको भए ममाथि किन पहिला नै कारबाही भएन’ –पछिल्लो आरोप लागेका शिक्षक खत्रीले नेपाल समाचारपत्रसंग भन्नुभयो । पुराना शिक्षकलाई हटाउन प्रशासनले यस्तो प्रपञ्च गरिरहेको उहाँको आरोप छ ।

विद्यालयले गणित पढाउने शिक्षक त्रिपाठीलाई निलम्बन गरे पनि नेपाली पढाउने शिक्षक केसीलाई निलम्बन गरेका छैन । निलम्बनमा परेका र आरोप खेपिरहेका सबै शिक्षकले आफूहरुले गलत गरेको भए कारबाही गर्न चेतावनी दिएका छन् ।

निजी गुठीद्वारा सञ्चालित सो विद्यालयका प्रअ माधव सिटौलाले पुराना शिक्षकलाई हटाएर आफ्नी बहिनी गीता त्रिपाठीलाई प्रअ बनाउन मिटुको प्रयोग गरी विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको शिक्षकको आरोप छ ।

स्रोतका अनुसार विद्यालय प्रशासनलाई राजीनामा दिएर अमेरिका गएका प्रअ त्रिपाठीको राजीनामा स्वीकृत भएको छैन ।
‘अमेरिकामा बसेर विद्यालयको साख गिर्ने गरी उहाँले किन यस्तो क्रियाकलाय गर्न थाल्नुभयो ? हामीलाई आश्चर्य लाग्न थालेको छ’ –आन्दोलनरत एक शिक्षकले भने ।

मिटुको विषयमा विभिन्न संचारमाध्यमले समाचार प्रकाशित गरेपछि विद्यालयका शिक्षकले समस्या समाधान गर्न व्यवस्थापन समितिलाई आग्रह गरेको छ । विसं २०३८ मा स्थापित सो विद्यालय ललितपुरको कहलिएको विद्यालयको रुपमा चिनिएको छ । हाल सो विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

जिल्लाको नमुना विद्यालयको रुपमा रहेको ललितपुर माविमा भर्ना हुन सोर्स लगाउनुपर्ने अवस्था छ ।
प्रअ सिटौला अमेरिका गएपछि एक पछि अर्को रुपमा शिक्षकले यौन क्रियाकलाप गरेको आरोप लगाउँदै शिक्षक निलम्बन गर्न थालेपछि त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य के हुने भन्दै अभिभावक चिन्ता व्यक्त गर्न थालेका छन् । यस विषयमा विद्यालयका सहायक प्रअ गीता सिटौलासँग पटकपटक मोबाइल सम्पर्क गर्दा उहाँले फोन उठाउनुभएन ।

निलम्बनमा परेका र चरित्र हत्या गरिएका शिक्षकले छानविनको माग गर्दै व्यवस्थापन समिति गुहारेका छन् । पुरान शिक्षक मन परेन भन्दैमा चरित्र हत्या गर्न नमिल्ने तर्क शिक्षकहरुको छ । आरोप लागेका शिक्षक खत्रीले विद्यालय प्रशासले घटनाको विषयमा यथार्थ छानविन गर्न माग गर्नुभएको छ ।

विद्यालय प्रशासनले झण्डै डेढ दशकदेखि पढाउँदै आएका शिक्षक रामप्रसाद थुलुङ, उपेन्द्र द्विवेदी, ऋषि कार्की, सुनन्त केसी र बोधराज त्रिपाठी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतलाई निष्कासन गर्न पूर्वविद्यार्थीमार्फत यौन दुव्र्यवहारको आरोप लगाउन थालिएको शिक्षकको आरोप छ । द्विवेदी विद्यालयका इस्टु अध्यक्ष हुन् । गत चैत २४ गतेदेख इस्टुको अगुवाइमा आन्दोलनरत ३८ जना शिक्षक र कर्मचारीले विभिन्न १७ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेका थिए । पछिल्लो पटक गएको भदौमा विद्यालय प्रशासनसँग वार्ता गर्दा समेत समस्या समाधान हुन सकेको छैन ।

विद्यालयका पुराना शिक्षकमाथि एकपछि अर्को यौन दुब्यवहारको आरोप लगाउँदै निष्कासन गर्न थालेपछि अभिभावक र विभिन्न निकायको दवावामा ललितपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय छानविन समिति गठन गरिएको छ ।
समितिमा महिला वडा सदस्य पुनम निरौला, अभिभावक संघका पूर्वअध्यक्ष शुप्रभात भण्डारी, दुई जना पूर्वविद्यार्थी, विद्यालयका अभिभावक र आमन्त्रित सदस्यको रुपमा विद्यालय निरीक्षक रहेका छन् ।

समितिका अध्यक्ष एवं वडा अध्यक्ष श्रेष्ठले गम्भीर घटना भएकोले सबै निकायसँग सोधपुछ गरिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘विभिन्न सञ्चारमाध्यममा शिक्षकविरुद्धमा समाचार आउनु दुःखदपुर्ण घटना हो, यो विषयमा हामी यथार्थ छानविन गरी प्रतिवेदन तयार गर्नेर्छौं ।’ उहाँले १५ वर्ष अघि शिक्षकले यौन दुब्यवहार गरेको विषयमा त्यस बेला किन ती शिक्षकलाई कारबाही भएन भन्ने विषयमा समेत अनुसन्धान गरिने जानकारी दिनुभयो ।

प्रअ नभएको विषयमा यस्ता गम्भीर विषय उठ्नु विद्यालय प्रशासनमाथि नै प्रश्न चिन्ह उठ्न सक्ने उहाँको भनाइ थियो । समितिका सदस्य एवं अभिभावक संघका पूर्वअध्यक्ष भण्डारीले यौन दुव्र्यवहारको विषयमा प्रश्न उठ्नु र शिक्षकमाथि कारबाही हुन प्रायोजित हो वा यथार्थ भन्ने विषयमा विस्तृत अनुसन्धान गरिने जानकारी दिनुभयो ।