छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

0
Shares

भरतपुर, चितवनमा आज भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–८ सीताराम चोकमा ट्रक र बसमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भरतपुर–१३ का ५० वर्षीय सुकदेव कोइराला र उनकी श्रीमती ४५ वर्षीया अम्बिका रहेका छन् ।

भरतपुरबाट गीतानगर जाँदै गरेको ना४ख ४९८२ नंको ट्रकले सोही दिशातर्फ गइरहेको ना४२प ४२३ नंको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकले ठक्कर दिएको मोटरसाइकल पुनः गीतानगरबाट भरतपुर आउँदै गरेको ना७ख १५६० नंको बसमा ठोक्किएको थियो ।
ट्रक र बसको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस, ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यस्तै चितवनमा रूखबाट लडेर भरतपुर–९ सरदपुरका ३८ वर्षीय कृष्णप्रसाद भुसालको मृत्यु भएको छ । रूखमा घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारमा अस्पतालको लापरवाहीका कारण भुसालको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको रिसेप्सनको सीसा फुटेको छ भने कागजपत्र च्यातिएको छ । तोडफोडमा संलग्नको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
रासस