महाबुलाई उज्यालो बनाइने

0
Shares

हिक्मत नेपाली, दैलेख ।
दैलेखको महाबु गाउँपालिकाले गाउँपालिकालाई उज्यालो बनाउने तयारी थालेको छ । विद्युत बाल्न बाँकी रहेका स्थानमा विस्तार गर्न गाउँपालिकाले तयारी थालेको हो ।

गाउँपालिकामा सामुदायिक विद्युतिकरण आयोजना संचालनका लागि गाउँपालिकाका चारवटा वडाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण गरिसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ मा विद्युतिकरणको कार्य अगाडी बढाउने तयारी गरिएको छ ।

कार्यविधि र डिपीआरमा उल्लेख भए अनुसारको मापदण्डका आधारमा सामुदायिक ग्रामिण विद्युतिकरण आयोजनासंग सम्झौता गर्न गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहिलाई जिम्मेवारी दिने निणर्य समेत गरिएको छ ।

विद्युतिकरणका लागी सिफारिस लगाएतका कार्यका लागी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखलाई आवश्यक सहयोग गर्न अनुरोध गर्ने निणर्य गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँपालिका भरिका सम्पूर्ण वडामा विधुतिकरण तथा गाउँपालिकाको समृद्धिका लागि विभिन्न क्रियाकलाप संचालन गरिनेछ । गाउँपालिकालाई समृद्ध बनाउनका लागी बिद्युतिकरण, सडक, कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहिले बताउनुभयो । गाउँपालिकाका सम्पूर्ण वडामा विद्युत पुगेसंगै नयाँ प्रविधि भित्रिने र आम नागरिकले सजिलै गाउँपालिकाको सेवा सुविधाको बारेमा जानकारी लिन सक्ने उहाँको भनाई छ ।

गाउँपालिकाले अनुगमन र न्यायिक समितिको काम प्रभावकारी बनाउन नयाँ सेवा सुविधा विस्तारको क्रममा रहेको समेत जानकारी दिएको छ । गाउँपालिकाको न्यायिक समितिमा आउने अधिकांश मुद्धाको किनारा दुवै पक्षको सहमतिमा गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाले बताउनुभयो ।

गाउँपालिका भरि निर्माण भइरहेका र हुने सम्पुर्ण योजनाहरुको प्रभावकारी अनुगमन गरेर मात्र भुक्तानी दिने गरेको बताउँदै नियमित अनुगमनले दिगो विकासमा टेवा पुग्ने उपाध्यक्ष बुढाको धारणा छ ।

‘विद्युतिकरणको कार्य सम्पन्न भएमा गाउँपालिकाका जनता अध्यारोमा बस्नु पर्दैन्,’ उपाध्यक्ष बुढाले भन्नुभयो ‘गाउँपालिकाले तत्काल विद्युत उत्पादन गर्न नसक्ने भएकाले साझेदारी कार्यक्रम मार्फत विद्युतीकरण गरी महाबु उज्यालो बनाउँछौ ।’