काठमाडौंका ९ वटा नगरलाई एक-एक करोड प्रदान गर्दै महानगर

0
Shares

नगरहरुले पठाएको प्रस्तावका आधारमा हरियाली प्रवर्धनमा सहयोग – मेयर शाक्य

काठमाडौंं ।

काठमाडौं महानगरले छिमेकी नगरलाई समृद्ध बनाउने नीतिअनुरुप ९ वटा नगरलाई जनही १÷१ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरले काठमाडौं जिल्लाका नगरपालिकाहरुको हरियाली प्रवर्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि प्राप्त प्रस्ताबका आधारमा उक्त रकम उपलब्ध गराउने भएको हो ।

शुक्रबार महानगरको सभा कक्षमा बसेको २९ औं बोर्ड बैठकले प्रस्तावक ९ वटा नगरलाई रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी गराउनुभयो । यसै कार्यक्रमअन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि १ करोड रुपैयाँ प्रदान गरिसकेको छ । अब टोखाबाहेकका अन्य नगरलाई रकम दिइनेछ ।
बैठकले अन्तर सरकार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुमोदन ग¥यो ।

चमति जग्गा आयोजनाको काम समयमा सम्पन्न गर्न आयोजनालाई ७ करोड रुपैयाँ ऋण उपलब्ध गराउने गरेको बैठकले पर्यटन बर्ष २०२० लाई सफल बनाउन सम्पदा समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यहरुमा वडाध्यक्षहरु शशिलाल श्रेष्ठ, राजेन्द्र मानन्धर, कुश ढकाल, बालकृष्ण श्रेष्ठ, दीपेन्द्र लामा, ईश्वरमान डंगोल, दिनेश डंगोल, रामकृष्ण श्रेष्ठ, चिनीकाजी महर्जन, ख्याम तिवारी, शोभा सापकोटा, शुद्धकुमार डंगोल र कार्यपालिका सदस्यहरु रमिताकमल स्थापित, लक्ष्मी श्रेष्ठ र हीरादेवी पोख्रेल हुनुहुन्छ । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन बिभागका बिभागीय प्रमुख रहने व्यवस्था गरिएको छ ।

त्यस्तै भवन निर्माण मापदण्ड पुनरावलोकन गर्न प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वडाध्यक्षहरु मुकुन्द रिजाल, शशिलाल श्रेष्ठ, मोहन बिष्ट र चिनियाँमान बज्राचार्य हुनुहुन्छ । तीनकुने पार्क निर्माण निर्माण गर्न मुआब्जा उपलब्ध गराउन नेपाललाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । बाँकीले मुआब्जा लिएपछि महानगरले पार्क निर्माण गर्ने योजना बनाएको, प्रवक्ता डंगोलको भनाइ छ ।

सहरी सुरक्षाका लागि सिसि क्यामरा जडान गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने र यसका लागि प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । आउँदो फागुन १ गते काठमाडौंमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुनेछ । यस कार्यक्रमलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने बैठकले गरेको अर्को निर्णय हो ।