कालिञ्चोकमा लगातार हिमपात, पर्यटकहरु उत्साहित

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।

दोलखाको कालिञ्चोक क्षेत्रमा विहिवार देखि लगातार हिमपात भै रहेको छ । शुक्रवार पनि विहानै देखि हिमपात भएकोले पर्यटकहरुलाई मन्दिर पुग्न कठिनाई भएको स्थानिय बताउछन् ।

विहिवार विहानै देखि लगातार हिमपात भएपछि अहिले दुई फिट भन्दा बढी हिउँ जमेको सुनपाती होटलका प्रोपाईटर हरि ओलीले बताए । टायरमा जन्जीर भएको सानो सवारी साधनमात्र कुरीसम्म पुग्ने भएकोले अघिल्लो शुक्रवार र शनिवार जति पर्यटक यो शुक्रवार मन्दिरमा आउन नसकेको ओली बताउछन् ।

कालिञ्चोकको प्रवेशद्वार कुरीमा करिब ४० वटा होटल रहेका छन् । फोनबाट कालिञ्चोकका सबै होटल बुक भएको तर लगातारको हिमपातको कारण सबै पर्यटक भने आईनसकेको सुनपाती होटलका प्रोपाईटर ओली बताउछन् । मौसमको कारणले आउन कठिनाई नभए शुक्रवार तीन चार हजार पर्यटक कालिञ्चोक आउने ओलीको भनाई छ ।

लगातारको हिमपातले बाटोभरी हिउँ जमेपछि ठूलो तथा टायरमा जन्जीर नभएका सवारी साधन भने गैरबाट माथि जान सकेका छैनन् । गैरीबाट पैदल जाँदा मन्दिर पुग्न २÷३ घण्टा लाग्ने स्थानिय बताउछन् ।

दोलखा कालिञ्चोक रिर्सोटका सञ्चालक नुर्वु तमाङ लगातारको हिमपातले केहि असजिलो भएपनि चारै तिर हिउँले डाँडाकाडाँ ढाकेकोले पर्यटकहरु निक्कै उत्साहित भएको बताउछन् । लगातारको हिमपातले केहि असहज भएपनि कालिञ्चोक आउने पर्यटकहरु सबै खुशी देखिएका छन् तमाङले भने – सबै पर्यटक हिउँमा खेलेर निक्कै रमाईलो गरिरहेका छन् ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुबै हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । कालिञ्चोकको कुरीबाट मन्दिरसम्म केवलकार सञ्चालन भएपछि पर्यटकको संख्यामा बृद्धि भएको स्थानिय होटल व्यवसायीहरुको भनाई छ । झण्डै ४ हजारको उँचाईमा रहेको मन्दिर परिसरको जलकुण्ड नै कालिञ्चोकको मुख्य विशेषता हो ।

हिमपातले मन्दिर परिसर तथा जलकुण्ड समेत ढाकिएपछि पर्यटकहरु झन उत्साहित बनेको तमाङको भनाई छ ।