प्राविधिक शिक्षाको माग बढ्दो

0
Shares

कृष्ण न्यौपाने , दमौली, व्यावसायिक धारको पढाइ शुरु भएका तनहुँका विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढेको छ । छोटो समयको पढाइबाट रोजगार सुनिश्चित हुने भएपछि विद्यार्थीहरु प्राविधिक शिक्षातर्फ आकर्षित भएका हुन् ।

माध्यमिक तह उत्तीर्ण भएपछि प्राविधिक शिक्षाका लागि पोखरा, चितवन वा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यसँगै विद्यार्थीहरु घरमै बसेर प्राविधिक शिक्षा पढ्न शुरु गरेका छन् । यसै शैक्षिक सत्रदेखि सब–ओभरसियरको पढाइ शुरु गरेको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थी विशाल ढकाल देशमा प्राविधिक जनशक्तिको माग रहेकाले आफूले प्राविधिक शिक्षा रोजेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “प्राविधिक शिक्षाका लागि यस भन्दा अगाडि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । अहिले घरआँगनमै रहेको विद्यालयहरुमा यसको पढाइ शुरु भएपछि सजिलो भएको छ ।”

विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत समाजको माग र आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयमा प्राविधिक धारको पढाइ सञ्चालन गरिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “अहिलेको अवस्थामा प्राविधिक शिक्षाको ठूलो माग छ । प्राविधिक शिक्षा पढेपछि रोजगार पनि सुनिश्चित छ ।” उहाँका अनुसार २१ जना विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि भर्ना भएका छन् ।

विद्यालयले आगामी वर्षहरुमा प्राविधिक विषयका थप कक्षासमेत सञ्चालन गर्ने योजना बनाएको छ । आगामी वर्ष अमिनको पढाइ शुरु गर्ने लक्ष्य छ ।

तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयले समेत यसै शैक्षिक सत्रदेखि विद्यालयमा सब–ओभरसियरको पढाइ शुरु गरेको छ ।

सोही ठाउँका रुपा गुरुङले गाउँमै बसेर प्राविधिक शिक्षा अध्ययन गर्न पाउँदा सहज भएको प्रतिक्रिया दिनुभयो । एसइई परीक्षा उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जानुपर्ने उहाँ लगायत अन्य विद्यार्थीको बाध्यता अब हटेको छ ।

गुरुङ भन्नुहुन्छ – “प्राविधिक शिक्षा पढेपछि रोजगारी सजिलै पाइने सुनेको छु । सोही कारण प्राविधिक शिक्षा अध्ययन गर्ने सोच बनाएँ ।” घर नजीकै बसेर प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउँदा खर्च समेत जोगिएको उहाँ बताउनुहुन्छ ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाका अनुसार प्राविधिक शिक्षा अध्ययन गर्ने २२ जना विद्यार्थी छन् । चालीस जनाको कोटा भए पनि सम्बन्धन प्राप्त हुन ढिलाइ भएकाले कोटा अनुसारको विद्यार्थी सङ्ख्या पु¥याउन नसकिएको उहाँले बताउनुभयो ।

“सम्बन्धन पाउन ढिलाइ भएकाले विद्यार्थी सङ्ख्या पु¥याउन सकेनौं, आगामी वर्ष कोटा अनुसारकै विद्यार्थी सङ्ख्या पु¥याउँछौं,” उहाँले भन्नुभयो ।

विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्नेमध्ये १४ छात्र र ८ छात्रा छन् । तीमध्ये १७ जनाले सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका हुन् । पाँच जना भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाभित्रका विद्यार्थी रहेका छन् । तीन जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । अठार महिने कोर्षका लागि रु ६० हजार शुल्क तोकिएको छ र पाँच किस्तामा उक्त रकम विद्यार्थीले बुझाउनुपर्ने छ । अध्यापनका लागि चार शिक्षकहरु रहेका छन् ।

प्राविधिक शिक्षा सञ्चालनका लागि घिरिङ गाउँपालिकाले रु ५५ लाख सशर्त अनुदान समेत दिएको छ । उक्त रकमबाट प्राविधिक शिक्षाका लागि आवश्यक सामग्रीहरु खरिद गरिएको विद्यालयले जनाएको छ । त्यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत रु २६ लाखको लागतमा चार कोठे भवन निर्माण गरिएको छ ।

व्यास नगरपालिका–६ स्थित जनजुक्त शाही माध्यमिक विद्यालयमा समेत यसै शैक्षिक सत्रदेखि पशु विज्ञानको पढाइ शुरु भएको छ । विद्यालयमा यही मङ्सिरदेखि तीन वर्षे कोर्षअन्तर्गत पशुविज्ञानको पढाइ शुरु भएको हो र १२ जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले ४० जनाको कोटा भए पनि पहिलो वर्ष भएकाले विद्यार्थी सङ्ख्या पु¥याउन नसकिएको जानकारी दिनुभयो ।

पशुविज्ञान अध्ययनका लागि स्थानीय विद्यार्थीसँगै छिमेकी नगरपालिकाबाट समेत विद्यार्थी आएका छन् । कुल २३ जनाले प्रवेश परीक्षा दिए पनि १२ जना मात्रै सफल भए ।

पशुविज्ञानमा विद्यार्थीको आकर्षण बढाउन विद्यालयले छात्रवृत्ति प्रदान गर्ने सोच बनाएको छ । “छात्रवृत्ति दिएर भए पनि यसमा विद्यार्थी सङ्ख्या बढाउने लक्ष्य राखेका छौं,” उहाँले भन्नुभयो – “जिल्लाकै दुर्गम ठाउँहरुमा समेत यसको महत्वबारे बुझाएर विद्यार्थी आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नेछौं ।”

पशुविज्ञान पढ्नकै लागि जिल्लाका विद्यार्थी अन्य जिल्लामा गएको देखिएकाले आफ्नै ठाउँमा यो विषय पढ्न पाइन्छ भन्ने जानकारी दिन आगामी दिन व्यापक प्रचारप्रसार थाल्ने विद्यालयको सोच छ ।