बाह्र करोडको लागतमा झापामा बायोमास ब्रिकेट उद्योग

0
Shares

भद्रपुर ।
झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालनमा ल्याइएको छ । भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले करिब १२ करोडको लागतमा मेचीनगर १५ ज्यामिरगढीस्थित हडिया उत्तरमा बायोमास ब्रिकेट उद्योग सञ्चालनमा ल्याएका हुन् । अढाई विगहा क्षेत्रफलमा सञ्चालित यस उद्योगको नाम पराजुली बायोमास ब्रिकेट उद्योग रहेको छ । भारतबाट आयातित कोइलामा आत्मनिर्भर चिया तथा इँटा उद्योगलाई लक्षित गरी उद्योग स्थापना गरिउको जनाइएको छ ।

भारतको आसाम, मेघालयबाट नेपाली बजारमा आयातित बढ्दो कोइलाको मूल्य र घट्दो गुणस्तरलाई लक्षित गरी उद्योगको स्थापना गरेको सञ्चालक पराजुलीले बताए बायोमास ब्रिकेट उत्पादनका लागि काम नलाग्ने उखुको खोस्टा, प्लाई र काठका टुक्राहरू प्रयोग गरिन्छ, यहाँ उत्पादित ब्रिकेट कोइला जस्तै गुणस्तर र भरपर्दो हुने उनको दाबी छ ।

उद्योगीले कोइला खरिद गर्न नेपाली रुपैयाँ भारतमा पठाउनु पर्ने र भनेका बेलामा कोइला नपठाउने, नआउने दिर्घकालीन समस्या अब अन्त्य भएको उनले बताए । कोइलामा सल्फरसँगै २० प्रतिशत खरानी निस्किन्छ, ब्रिकेटमा सल्फर हुदैन भने खरानी २ प्रतिशत मात्र निस्किन्छ, यसले पनि फाइदा गर्छ । ब्रिकेटको खरानीलाई खेतीबारीमा मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ उनले भने ।

प्रतिकेजी कोइलाको मूल्य नेपाली २७ रुपैयाँ पर्छ, बिक्रेटको मूल्य १५ रुपैयाँ तोकिएको उद्योगले जनाएको छ । उद्योगले प्रति घण्टामा ५ देखि ६ टनसम्म ब्रिकेट उत्पादन गर्छ । ब्रिकेट उद्योग सञ्चालनमा आएसँगै २५ देखि ३० जनाले रोजगारी पाएको सञ्चालक पराजुलीको भनाई छ । झापामा हाल २६ वटा चिया उद्योग र दुई दर्जन बढी इँटा उद्योग सञ्चालित छन्