नगरपालिकामा लोक सेवा कक्षा

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिकाले महिलाहरुका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । एक महिनासम्म सञ्चालन हुने तयारी कक्षामा नगरपालिका क्षेत्रका ८० जना सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मंगलबार औपचारिक कार्यक्रमकाबीच तयारी कक्षा उद्घाटन गरेका छन् । उनले तयारी कक्षाबाट लोक सेवा परीक्षाको तयारीका लागि सहभागीहरुलाई सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

‘अहिले तीन तहको सरकार छ, तिनै तहको सरकारका लागि जनशक्ति आवश्यक छ, यो कक्षाबाट त्यो जनशक्ति उत्पादन हुने आशा राखेका छौ’ उनले भने,‘यो कक्षाले लोक सेवा तयारीका लागि सहयोग पुग्छ ।’

महिलाहरुको सरकारी सेवामा पहुँच बढाउन गत वर्षदेखि कक्षा सञ्चालन हुँदै आएको उल्लेख गर्दैैै उनले यस वर्ष निरन्तरता दिएको बताए । ‘भीमदत्त नगरका महिला दिदी बहिनीको सरकारी सेवामा पहुँच बढोस भन्ने चाहना हो’ उनले भने,‘गत वर्ष तयारी कक्षा चलायौ, यस वर्ष निरन्तरता दियौ, अर्को वर्ष पनि निरन्तरता दिनेछौ ।’ भीमदत्त नगरपालिकाका क्षेत्रका महिलाहरु बढी भन्दा बढी लोक सेवा परीक्षा उत्तीर्ण भएको खबर सुन्न पाउने अपेक्षा राखिएको उनले बताए ।

‘अहिले कञ्चनपुरबाट यति पास भनेर आउँछ, अब भीमदत्तका यति भनेर पास भनेर आओस’ उनले भने । भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम अघि सारिएको उल्लेख गर्दै त्यसका लागि सबै नगरवासीको सहयोग चाहिने नगर प्रमुख विष्टले बताए ।
‘नगरलाई समृद्ध बनाउने लक्ष्य राखिएको छ, त्यसका लागि नीति तथा कार्यक्रम अघि सारिएको छ, समृद्ध नगर बनाउने लक्ष्य जनप्रतिनिधि, कर्मचारी जो कोहीले एक्लै पूरा गर्न सक्दैन’ उनले भने,‘त्यसका लागि तपाई, हामी सबैले जो जुन ठाउँमा छौ, त्यहीबाट सक्दो सहयोग गर्न जरुरी छ ।’
भीमदत्तले छाडा चौपाया नियन्त्रण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका वासिन्दाको चाहना र आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख विष्टले बताए ।
नगरपालिकामा केही दिनभित्र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु गरिने उनले जानकारी दिए । कार्यक्रममा सामाजिक विकास समितिका सभापति हरक सिह धामीले सरकारी सेवा प्रवेश गर्न चाहने महिलाहरुका लागि तयारी कक्षाबाट फाइदा पुग्ने बताए ।
‘यो कक्षाबाट सरकारी जागिर खान चाहनेलाई महिला दिदी बहिनीहरुलाई फाइदा हुन्छ’ उनले भने,‘कक्षाबाट बढी भन्दा बढी फाईदा लिनु होला ।’ भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले तयारी कक्षामा सहभागी सबै जना लोक सेवा परीक्षामा उत्तीर्णका लागि कामना गरे ।

तयारी कक्षामा सहभागी सरिता चन्दले लोक सेवा परीक्षाको तयारीका लागि कक्षा लिन आएको बताइन् । ‘यसबाट परीक्षामा सजिलो होला भन्ने आशा गरिएको छ’ उनले भनिन् ।

नगर प्रमुख विष्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा प्रशिक्षक केशव चन्द, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उप शाखाका राधिका पन्त लगायतका सहभागी भएका छन् ।