७४ किलो गाँजासहित पक्राउ

0
Shares

हेटौंडा,(नेस) ।

हेटांैडा उपमहानगरपालिका वडा नम्बर–१९, सिराङचोकमा लागुऔषध लुकाइराखिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रनि मधुकुमार थापासहित गएको टोलीले खानतलासी गर्दा प्लाष्टिकको बोरामा तयारी अबस्थामा राखिएको गाँजा बरामद गरेको छ ।

चन्द्रबहादुर भोलनको घरबाट गाँजा १६ किलो, पूर्णबहादुर भोलनको घरबाट ३२ किलो र वुद्धिलाल भोलनको घरबाट २६ किलो गरी ७४ किलो गाँजा फेला परेको हो । गाँजासहित वर्ष ७० का चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ ।

फरार रहेका कैलाश गाउँपालिका बस्ने पूर्णबहादुर भोलन र वुद्धिलाल भोलनको खोजी भइरहेको छ । चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको लागुऔषध गाँजा तथा अफिम फँडानी अभियानको अन्त्यतिर आइपुग्दा कतिपय स्थानका कुनाकाप्चामा फँडानी गर्न छुट भएका गाँजा बेचबिखनको तयार गरिएको अबस्थामा गाँजा बरामद गरिएको हो ।

अन्य स्थानमा पनि लागुऔषध बेचबिखनका लागि जम्मा गरी राख्नसक्ने देखिएकाले सम्भावित स्थानमा आवश्यक सूचना संकलन गरी छापा मारेर लागुऔषध गाँजा बरामद तथा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने अभियान अघि बढाउँदै लैजाने रणनीति प्रहरीले तयार गरेको छ ।