दूरसञ्चार क्षेत्रमा छुट्टै पूर्वाधार कम्पनी गठन गरिने

0
Shares

नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव
दीपेन्द्र थापा, काठमाडौं
सरकारले दूरसञ्चार क्षेत्रको विकासका लागि पूर्वाधार कम्पनी गठन गर्ने भएको छ। नेपाल टेलिकमको १५ औं वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालले सो जानकारी दिनुभएको हो।

‘टेलिकमले हाल पूर्वाधार विस्तारमा काम गरिहेको छ। तर, आगामी दिनमा छुट्टै कम्पनी गठन गरेर पूर्वाधारको विस्तार गर्नेतर्फ सरकार अगाडि बढेको छ।’ मन्त्री बाँस्कोटोले भन्नुभयो– ‘यो स्वायत्त निकाय पनि हुन सक्छ वा टेलिकमको मातहतमा समेत पनि हुन सक्छ।’ उहाँले व्यवस्थित बजार नीतिका आधारमा नाफा, सेवा र सुरक्षामा केन्द्रित रही कम्पनीले देशभर नेटवर्क विस्तार गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कम्पनीले २५ अर्ब रुपियाँ राजस्व बुझाएको र ५ हजार कर्मचारी क्रियाशील भएर रहेको जानकारी दिनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले कम्पनीको भविष्य र प्रगति यसको आम्दानीसँग जोडिएको बताउँदै कम्पनीलाई बजार हिस्सा बढाउने कार्यमा बढी ध्यान दिन आग्रह गर्नुभयो। कम्पनीको फोरजी सेवा विस्तार तथा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यलाई द्रुत गतिमा अगाडि बढाउन र नयाँ अतिरिक्त सेवामा समेत ध्यान दिन उहाँले सुझाव दिनुभयो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै व्यावसायिक दक्षता, बजार विस्तार, राजस्व वृद्धि र उच्च कार्यदक्षता सहित कम्पनीलाई निरन्तर अग्रणी स्थानमा राख्नका लागि प्राथमिकता दिने बताउनुभयो।उहाँले वार्षिकोत्सवको अवसरमा सेवाग्राहीका लागि विभिन्न प्याकेज तथा छुटको घोषणा गर्नुभयो। टेलिकमले आर्थिक वर्ष २०७४÷७५ मा ४५ अर्ब २७ करोड बराबरको नाफा गरेको छ।

कम्पनीले आव २०७३÷७४ मा ४४ अर्ब ५९ करोड रुपियाँ आम्दानी गरेको थियो। कम्पनीको खुद नाफा १३ दशमलव ७३ प्रतिशतले वृद्धि भई आव २०७४÷७५ मा १७ अर्ब ४८ करोड रुपियाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७४÷७५ मा ११६ दशमलव ५६ प्रतिशत पुगेको बताउनुभयो। शेयरधनीलाई आव २०७४÷७५ को लाभांश प्रतिशेयर ५५ रुपियाँका दरले उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ।

त्यस्तै राजस्ववापत कम्पनीले आव २०७४÷७५ मा कर तथा गैरकर वापत कुल २६ अर्ब ६५ करोड २० लाख रुपियाँ सरकारी कोषमा योगदान गरेको छ। कम्पनीको कार्ययोजनाअनुसार आय र मुनाफामा वृद्धि हुँदा सरकारी राजस्वमा स्वतः वृद्धि हुने दाबी छ। कम्पनीका अनुसार गत मंसिरसम्म ग्राहक संख्या दुई करोड १० लाख ९८ हजार पुगेको छ। आव २०७३÷७४ मा एक करोड ७६ लाख दुई हजार ग्राहक रहेकोमा १३ दशमलव ५१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तसम्म एक करोड ९९ लाख ८० हजार पुगेको थियो। हाल टेलिघनत्व ७२ दशमलव ५० प्रतिशत पुगेको छ।