एक वर्षमा १२ लाख विद्यार्थी गायब

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
शैक्षिक सत्र २०७६ का लागि तय गरिएको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ।
सरकारले तयार गरेको फ्ल्यास रिपोर्टका आधारमा शैक्षिक सत्र २०७६ का लागि तय गरेको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ।

शिक्षा तथा मावन स्रोत विकास केन्द्रले हचुवाको भरमा तथ्याङ्क निकाल्ने गरेको देखिएको छ। फ्ल्यास रिपोर्टअनुसार तत्कालीन शिक्षा विभागले जनक शिक्षा सामग्री केन्द्रलाई करिब ६८ लाख विद्यार्थीलाई पुग्ने पाठ्यपुस्तक छपाइ गर्न निर्देशन दिएको थियो। केन्द्रका अनुसार गत वर्ष ६८ लाख ७ हजार ५ सय ५२ विद्यार्थी स्कुलमा उपस्थित थिए।

तर शैक्षिक सत्र २०७५ मा यो संख्यामा १२ लाखले घटेर ५६ लाखको हाराहारीमा पुगेको छ। केन्द्रले दिएको तथ्याङ्कअनुसार शैक्षिक सत्र २०७६ का लागि ५६ लाख ९ हजार ५ सय ९३ विद्यार्थी रहने जनाएको छ। चालू आर्थिक वर्षमा ११ लाख ९७ हजार ८ सय ५९ विद्यार्थी कम रहेका छन्।

कहाँ हराए गत वर्ष भर्ना भएका करिब १२ लाख विद्यार्थीरु यो विषयमा केन्द्रले कुनै उत्तर दिन सकेको छैन। केन्द्रका शैक्षिक सूचना व्यवस्थापन शाखाका निर्देशक गोविन्दप्रसाद शर्माले विद्यार्थीको एकिन तथ्याङ्क निकाल्दा केही घटेको हुनसक्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘सबै विद्यार्थीको एकिन तथ्याङ्क संकलन गर्न तीनपुस्ते फाराम भरेका कारण केही नक्कली विद्यार्थीको संख्या घटेको हुनसक्छ।’

बढी विद्यार्थी देखाएर करोडौं रुपियाँ अपचलन हुने गरेको आशंका बढेपछि केन्द्रले आगामी वर्षका लागि विद्यार्थीको सम्पूर्ण विवरण तयार गरी एकिन विद्यार्थीको तथ्याङ्क निकालेको हो।

केन्द्रले अहिले विद्यार्थीको फाराम भर्दा विद्यार्थीको सम्पूर्ण विवरण भर्ने गरेको छ। तथ्याङ्क संकलन गर्दा केही विद्यार्थी कम भएको हुनसक्ने केन्द्रको अड्कल छ।

नाम नामेसीसहितको विवरण तयार गर्दा केही विद्यार्थीको संख्या घट्नु स्वाभाविक भए पनि १२ लाख विद्यार्थी हराउनुमा गम्भीर त्रुटि देखिएको छ। केन्द्रका प्रवक्ता दीपक शर्माले केही वर्षदेखि विद्यार्थीको संख्या घट्नु स्वाभाविक भए पनि यति धेरै संख्यामा विद्यार्थी घट्नु गम्भीर विषय भएको बताउनुभयो। उहाँले अहिले विद्यार्थीको जन्ममितिदेखि घरको सम्पूर्ण विवरणबारे जानकारी हुनेगरी एकिन तथ्याङ्क राखेको कारण गलत नियतले भर्ना गरिएको भनिएका विद्यार्थीको संख्या घटेको हुनसक्ने बताउनुभयो।

केही सामुदायिक विद्यालयले विद्यार्थीको टाउको गनेर पुस्तक दिने भएपछि भर्ना नै नभएका विद्यार्थीको नाम लेखेर केन्द्रमा पठाएको हुनसक्ने आशंका गरिएको छ।

स्रोतका अनुसार पढ्दै नपढेका विद्यार्थीको नाम पठाएर किताबको रकम दुरुपयोग गर्ने प्रधानाध्यापकको विषयमा छानबिन गरिरहेको जनाएको छ। निर्देशक शर्माले भन्नुभयो– ‘हालसम्म ३५ हजार ६ सय ३ सामुदायिक विद्यालयमध्ये हालसम्म ३२ हजार विद्यालयले मात्रै विद्यार्थीको नाम नामेसी पठाएका कारण विद्यार्थीको संख्या घटेको हो।’

तर पुस्तक वितरण गर्ने समयमा कति विद्यार्थी छन् सबै एकिन हुने उहाँको भनाइ थियो। केन्द्रले दिएको तथ्याङ्कका आधारमा जनक शिक्षाले पुस्तक छपाइ शुरू गरिसकेको छ। बढी विद्यार्थी देखाएर करोडौं रुपियाँ अपचलन हुने गरेको आशंका बढेपछि केन्द्रले आगामी वर्षका लागि विद्यार्थीको सम्पूर्ण विवरण तयार गरी एकिन विद्यार्थीको तथ्याङ्क निकालेको हो।

निजी पुस्तक प्रकाशकका प्रतिनिधि दीपक भण्डारीले करिब १२ लाख विद्यार्थी गायब भएको बताउनुभयो।
गत वर्षको तुलनामा यति धेरै विद्यार्थी घट्नु गम्भीर विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यस्तो गम्भीर विषयमा सरकारले छानबिन गर्नुपर्छ।’

केन्द्रले निजी प्रकाशकलाई पठाएको तथ्याङ्कभन्दा जनकसँग भएको तथ्याङ्क फरक देखिएको छ। केन्द्रका प्रवक्ता शर्माले विद्यार्थी घटेको हो वा होइन भन्ने विषयमा थप अध्ययन गरिने बताउनुभयो।

केन्द्रले जनक शिक्षालाई उपलब्ध गरेको तथ्याङ्कअनुसार शैक्षिक सत्र २०७५ मा कक्षा १ मा ९ लाख ३८ हजार ८ सय ६३ विद्यार्थीबाट घटेर ७ लाख २१ हजार ६ सय ९१ पुगेको छ। कक्षा १ मा २ लाख १७ हजार १ सय ७२ जना विद्यार्थी घटेका छन्।
२ मा ८ लाख १ हजार ९ सय २२ बाट घटेर ६ लाख ६ हजार १० विद्यार्थी पुगेका छन्। २ मा १ लाख ९५ हजार ९ सय २२ विद्यार्थी संख्या घटेको छ।

कक्षा ३मा ७ लाख ७४ हजार १ सय ४३ बाट घटेर ५ लाख ९८ हजार २३ पुगेका छन्। कक्षा ३ मा १ लाख ७६ हजार १ सय २० विद्यार्थी घटेका छन्। ४ मा ७ लाख ३५ हजार २ सय ५३ बाट घटेर ५ लाख ७३ हजार ६ सय २ पुगेका छन्।

४ कक्षामा १ लाख ६१ हजार ६ सय ५१ विद्यार्थी घटेका छन्। ५ कक्षामा ७ लाख १९ हजार १ सय ३५ बाट घटेर ५ लाख ६७ हजार १२ पुगेको छ। कक्षा ५ मा १ लाख ५२ हजार ८ सय २३ कम देखिएको छ। कक्षा ६ मा ६ लाख २२ हजार ४ सय ९४ बाट घटेर ५ लाख ३७ हजार ३ सय १२ पुगेको छ। सो कक्षामा ८५ हजार १ सय ८२ विद्यार्थी घटेका छन्। कक्षा ७ मा ६ लाख १६ हजार १ सय २१ बाट घटेर ५ लाख २७ हजार ९ सय ३० पुगेको छ। कक्षा ७मा ८८ हजार १ सय ९१ जना विद्यार्थी घटेका छन्। ८ मा ६ लाख २८ हजार १ सय १ बाट घटेर ५ लाख ३९ हजार ३ सय ९१ पुगेको छ।

कक्षा ८ मा ८८ हजार ७ सय १० घटेका छन्। ९ मा ५ लाख १४ हजार २ सय ४४ बाट घटेर ५ लाख ५० हजार ३० पुगेको छ। सो कक्षामा ९ हजार २ सय १४ जना कम देखिएको छ। १० कक्षामा ४ लाख ५६ हजार ७ सय ७६ बाट घटेर ४ लाख ३८ हजार ९ सय ९२ पुगेको छ। कक्षा १० मा शैक्षिकसत्र २०७५ भन्दा १७ हजार ५ सय ५४ जना विद्यार्थी घटेका छन्।

जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाल शिक्षा विकास तथा मानव स्रोत केन्द्रले दिएको यही तथ्याङ्कका आधारमा पुस्तक छपाइ भइरहेको जानकारी दिनुभयो।

केन्द्रले आगामी शैक्षिक सत्र २०७६ मा २ करोड २४ लाख पाठ्यपुस्तक छपाइ गर्ने भएको छ। केन्द्रका बजार व्यवस्थापन शाखा प्रमुख शम्भु पोखरेलले हालसम्म १ करोड ६५ लाख थान छपाइ भइसकेको जानकारी दिनुभयो।

केन्द्रले शैक्षिकसत्र २०७५ मा १ करोड ९२ लाख थान छपाइ गरेको थियो। आगामी वर्षका कक्षा ५ को समेत सम्पूर्ण जिम्मेवारी भएकाले गत वर्षको तुलनामा केही संख्या बढेको जानकारी दिनुभयो।