परम्परागत हस्तकला सिपकोे जगेर्ना गर्दै थारु महिला

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
पछिल्लो पुस्ताका युवायुवतीमा परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । बदलिँदो समयानुसार पछिल्लो पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । हरेक कार्यमा अनिवार्य चाहिने ढकिया बुन्ने सीपप्रति युवा पुस्ताले बेवास्ता गर्दा यो सीप हराउँदै गएको थारु अगुवा गुनासो गर्छन् ।

थारु समुदायमा पूजाआजा जस्ता शुभकार्य, विवाहमा दाइजोको रुपमा, मृत्युवरणपछि दानको रुपमा ढकिया अनिवार्य दिइने प्रचलन पराम्परादेखि नै चल्दै आएको छ । तर पश्चिमा संस्कृतिको विकाससँगै विस्तारै अन्य वस्तुको प्रयोग हुन थालेपछि ढकिया लोप हुन लागेको थारु महिला अगुवा एवं शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी बताउनुहुन्छ । जसले गर्दा पछिल्लो पुस्ताका युवतीहरुमा समेत ढकिया बुन्ने सीप हराउँदै गएको उपप्रमुख थारुको गुनासो छ । पछिल्लो पुस्तामा ढकिया बुन्ने सीप हराउँदै गएपछि बजारको माग अनुसारको सीप प्रवद्र्धनका लागि नगरपालिकाबाट आफू अग्रसर भएको उहाँले बताउनुभयो ।

परम्परागत हस्तकला सीप लोप हुँदै गएपछि अहिले शिवराज नगरपालिका १, उमरीका थारु महिलाहरु ढकिया बुन्ने सीप जोगाउन लागिपरेका छन् । ढकिया खेतबारीमा पाइने खर (मुज र पुँजा) बाट निर्माण गरिन्छ । परम्परागत रुपमा निर्माण गरिएका ढकियाको अस्तित्व संकटमा पर्न थालेपछि बजारको माग अनुसार मुज र पुँजाबाट कलात्मक आकृतिका वस्तुहरु बनाउने सीप सिक्न थारु महिलारु अग्रसर भएका छन् ।

शिवराज नगरपालिका र किर्डाक नेपालले थारु महिलाहरुका लागि आकर्षक किसिमका विभिन्न सामग्री बनाउने सीप सिक्ने अवसर जुटाइदिएको छ । त्यस गाउँका ३५ जना महिलाहरु यतिबेला खरका कलात्मक सामग्री निर्माण गर्ने सीप सिक्नमा व्यस्त छन् ।

तालिम पन्ध्र दिनका लागि आयोजना गरिएको छ । अहलिे तालिममा थारु महिलाहरु ढकिया, दिलडब्बा, पेनदानी, गमला, फूलदानी, किस्ती, खुत्रुके, चकटी लगायतका सामाग्रीहरु बनाउन सिकिरहेका छन् । “धेरै प्रकारका सामग्री बनाउन सिक्न बाँकी छ, तर तालिमको अवधि छोटो भयो” –तालिमका सहभागीहरुले गुनासो पोखे । “तालिम संचालन भएको १२ दिन बित्यो, तर तालिमको अवधि सकिनै लाग्दा पनि भनेजति सीप सिक्न सकिएन” – अनुगमनमा आएकी उपप्रमुख शिवकुमारी थारुसामु सहभागीले गुनासो गरे ।

तालिम अति नै उपलब्धीमूलक भएको तालिमकी सहभागी बसन्ती थारुले बताउनुभयो । यो सीपले आफूलाई आत्मनिर्भर बन्न ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गर्नुभयो । आफूहरु पढ्न नसकेर केही गर्न नसकेपनि योे सीप सिकेपछि केही गर्न सक्छु भन्ने आशा जागेको सहभागी सीमा थारु बताउनुहुन्छ । ढकिया बुन्ने तालिमका लागि विभिन्न बुट्टा बनाउन आवश्यक पर्ने रङ बाहेक अन्य कुनै पनि खर्च हुँदैन ।

यसका लागि आवश्यक पर्ने मुज र पुँजा खेतबारीमा सिजनको बेला पाइन्छ । सीप नपाएर आफू बेरोजगार बनेको तालिमकी अर्की सहभागी मुना थारुले बताउनुभयो । पाएको सीपले आफू स्वरोजगार बन्न मद्धत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

किर्डाक नेपालले पाँच दिनको लागि तालिम आयोजना गरेपनि सो अवधिमा केहीपनि सिक्न नसक्ने सहभागीको गुनासोलाई मध्यजजर गर्दै नगरपालिकाबाट तालिमको अवधि १० दिन थप गरेको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । पन्ध्र दिने तालिममा प्रशिक्षकको लागि रकम व्यवस्था गरिएको छ ।

शिवराज नगरपालिकाले २० हजार र किर्डाक नेपालले १० हजार आर्थिक सहयोग गरेको उपप्रमुख थारुले बताउनुभयो । लोप हुँदै गएको हस्तकला, सीपलाई प्रवद्र्धन गर्न र सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम संचालन गरिएको उपप्रमुख थारुले उद्घोष गर्नुभयो । उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्न समेत सहभागीलाई सुझाव दिनुभयो ।