हेटौंडाका सडकमा उत्रियो नेपाली कांग्रेस

0
Shares

हेटौंडा,(नेस) ।

नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा विरोध प्रदर्शन गरेका छ । दुई तिहाइको कम्युनिष्ट सरकारको अधिनायकवादी शैली र देशमा बढिरहेको महंगी, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारलगायत घटनाका विरुद्ध प्रदेश–३ को राजधानी हेटौंडाका चार नाकाबाट जिल्ला तहका शीर्ष नेताहरुको कमाण्डमा प्रदर्शन गरिएको हो ।

विरोध ¥यालीमा सरकारको अधिनायकवादी शैली, संसदीय मर्यादा पालना गर्न, सत्याग्राही डा. गोबिन्द केसीका माग पूरा गर्न, वाइडबडी विमान भ्रष्टाचारीलाई कारबाही गर्न, निर्मलाका हत्यारालाई कारबाही गर्न, चर्को करबृद्धि र दोहोरो कर फिर्ता गर्न र हेटौंडालाई प्रदेशको स्थायी राजधानी कायम गर्न माग गर्दै नारा लगाइएको थियो ।

सभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा संघीय संसद्की प्रमुख सचेतक पुष्पा भुसालले कम्युनिष्टको सरकार आएपछि देशमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार बढेको दाबी गर्नुभयो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भुसालले निर्मला पन्तलाई न्याय दिन नसक्ने बरु आफ्नै पोष्टर पोलपोलमा टाँस्दै हिँड्ने भन्दै सरकारको विरोध गर्नुभयो ।

उहाँले सरकारले भ्रष्टाचार तथा बलात्कार जस्ता जघन्य अपराधका अभियुक्त संरक्षण गरेको आरोप लगाउनुभयो । सरकारले दुई तिहाइको दम्भ देखाएर नेपाली जनतामाथि अन्याय गरेको उहाँको भनाइ छ ।

वर्तमान सरकार मानवअधिकारप्रति संवेदनशील नभएको उहाँले आरोप लगाउनुभयो । कम्युनिष्टले दुई तिहाइको दम्भमा न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै नेतृ भुसालले सरकार चलाउनुको साटो संविधान चलाउन खाजिएको दाबी गर्नुभयो । केन्द्रीय सदस्य भुसालले सरकार नालायक रहेको आरोप लगाउनुभयो ।

भुसालले प्रदेश नम्बर–३ को राजधानी हेटांैडाबाट अन्यत्र सारे कांग्रेसलाई मान्य नहुने बताउनुभयो । उहाँले पूर्वाधारसम्पन्न हेटौंडाबाट राजधानी अन्यत्र सारे कांग्रेसले अझ विरोध प्रदर्शन गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले जनतालाई न्याय दिलाउन नसकेको बताउनुभयो । बानियाँले कम्युनिष्ट सरकार आएपछि मुलुकमा इतिहासकै बढी गरिबी बढेको बताउनुभयो । बानियाँले सरकारले संसदीय मर्यादा कायम नगरे कांग्रेसले कम्युनिष्टलाई सरकारबाट निकाल्ने चेतावनी दिनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्न खोजे कम्युनिष्टका अर्का अध्यक्ष प्रचण्ड कांग्रेसको समर्थनमा आउने दाबी गर्नुभयो । उहाँले अब कम्युनिष्टलाई जनताले विश्वास गर्न छाडेको बताउनुभयो ।

हेटौंडा मुख्य बजारको बुद्धचोकमा भएको भेलाका लागि मकवानपुरको पूर्वी क्षेत्र वागमती, बकैयाबाट आउने कार्यकर्ता हेटौंडाको सानोपोखरा चोकबाट, थाहानगर, इन्द्रसरोवर, भीमफेदीलगायत उत्तरी क्षेत्रबाट आएका कार्यकर्ता भीमफेदी–पालुङ बसपार्कबाट, राक्सिराङ, मनहरीलगायत पश्चिम क्षेत्रबाट आएका कार्यकर्ता जिल्ला प्रहरी कार्यालय चोकबाट तथा चुरियामाई, पदमपोखरीलगायत दक्षिणी क्षेत्रबाट आएका कार्यकर्ताले फरेष्ट्री गेटबाट ¥याली निकालेर बुद्धचोकमा भेला भएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको हो ।