घर–घरमा स्वास्थ्य सेवा अभियान

0
Shares

नेपाल समाचारपत्र, पाल्पा ।
गनासकाली गाउँपालिकाले जेष्ठ, अपाङ्गहरुका लागि घर–घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले जनताको आधारभूत स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरेको हो ।

गाउँपालिकाले वडा ७ खानीगाउँबाट अभियान शुरु गरेको छ । खानीगाउँ स्वास्थ्य चौकीको आयोजना, बगनासकाली गाउँपालिकाको समन्वयमा र मानव अधिकार निगरानी समूह खानीगाउँको पहलमा अभियान शुरु भएको हो ।

अभियानको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाका वयोवृद्धा, असाहय तथा फरक क्षमता भएका व्यक्तिहरुको नियमित स्वास्थ्य परीक्षण हुने कुराले जनताको स्वास्थ्य सेवा सर्वसुलभ गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्ने बताए । उनले सामान्य उपचारका अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए ।

अध्यक्ष बस्यालले अभियानले स्थानीय सरकार घर–घरमा आएको महसुस हुने भएकोले पनि गाउँपालिका भित्रका अन्य वडाहरुमा पनि विस्तार गर्दै लगिने जानकारी दिए । अभियानमा अनुभवी सहितको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्ने स्थास्थ्य शाखा संयोजक मणिराम अधिकारीले जानकारी दिए ।

उनले सशक्त व्यक्तिहरुका लागि गाउँ–गाउँमा र असक्तहरुका लागि घर घरमै पुगेर स्वास्थ्य परिक्षणसँगै औषधी वितरण गरिने बताए ।

गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा यो वर्षबाट सुगर, बल्ड प्रेसर, छारे रोगका औषधी निशुल्क रुपमा नियमित रुपमा वितरण गर्नुको साथै दम तथा निमोनियाका विरामीहरुलाई निशुल्क नेबुलाइजर (बाफ) सेवा समेत दिइने संयोजक अधिकारीले जानकारी दिए ।