कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त ६ वर्षपछि पक्राउ

42
Shares

लिम अन्सारी,प्युठान।
कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई प्युठान प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

साविकको पुँजा गा.बि.स. वडा नं. १ गोसाईखेतका रमेश मल्ललाई आईतबार प्रहरीले पक्राउ गरेको हो । ३३ वर्षका मल्ललाई रुपन्देही बुटवल उप(महानगरपालिका वडा नं. १२ नयागाउँबाट लुकिछिपि बसिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
०६९ साल पुस महिनामा गुल्मीको अग्लुङफेदि बजारबाट प्युठानको ठुलाबेशी आउदै गर्दा स्थानीय लिला बहादुर के.सी.को छोरा बिज्ञान के.सी.को मल्लले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । नाताले रमेश र बिज्ञान फुपु मामाका छोरा समेत हुन। हत्यापछी रमेश फरार थिए।

प्रहरी हवल्दार रविन्द्र बिक्रम समेतको टोलीले बुट्वलको नया गाउबाट उनलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले पक्राउ पछि प्रतिबादि रमेशलाई सोमबार प्युठान जिल्ला अदालतमा पेश गरि अदालतको आदेश अनुसार कानून बमोजिम कैद भुक्तानको लागी जिल्ला कारागार प्यूठानमा पठाईएको जानकारी दिए। सम्मानित जिल्ला अदालत प्युठानले कर्तव्य ज्यान मुद्धामा मल्ललाई ०७२ भदौ २८ गते १९ बर्ष ११ महिना ५ दिन कैद सजायको फैसला गरेको थियो ।