भरतपुर विमानस्थल बिस्तार गरिन्छ: मन्त्री अधिकारी

0
Shares

चितवन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भरतपुर विमानस्थल बिस्तार गरिने बताउनुभएको छ ।

उहाँकै सक्रियतामा जिल्लाका सुरक्षा निकाय र भरतपुर महानगरपालिकाका जनप्रतिनिधिसहितको आज यहाँ बसेको बैठकमा विमानस्थल बिस्तार गर्ने विषयमा छलफल भएको थियो । बैठकपछि मन्त्री अधिकारीले विमानस्थलमा रात्रिकालीन सेवा सञ्चालन गर्ने उद्देश्यका साथ कामलाई अघि बढाइने बताउनुभयो । विमानस्थलमा उडान र अवतरणमा समस्या देखिएपछि समस्या समाधानका लागि पहल गर्न महानगरलाई भनिएको उहाँले बताउनुभयो ।

अवतरण र उडानमा देखिएका समस्या समाधानका लागि बनेका संरचनाको लगत सङ्कलन गरिने र अब बन्ने संरचनामा कडाइ गरिने भएको छ । लगत सङ्कलन गरी धेरै क्षति नपुग्ने गरी कामलाई अघि बढाइने उहाँले बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “चितवनको विमानस्थलमा देखिएका समस्या समाधान गर्दै सेवा बिस्तारका लागि आजको बैठकले निर्णय गरेको छ ।” विमानस्थलको बिस्तारका लागि सेनासँग छलफल गरी टुङ्गो लगाई ७२ सिटे जहाज आवतजावतका लागि वातावरण तयार गर्ने बैठकमा सहमति भएको छ ।

मन्त्री अधिकारीले भन्नुभयो, “चितवनमा ७२ सिटे जहाज आवश्यक छ । यसका लागि काम तुरुन्तै गर्छाैं ।” अहिले बनेका संरचनाका कारण विमानस्थल असुरक्षित महसुस भएको बताउँदै उहाँले सुरक्षित बनाउनका लागि आफूहरुको ध्यान गएको बताउनुभयो । यसका लागि दीर्घकालीन र तत्कालीन सोचका साथ कामलाई अघि बढाइने उहाँले बताउनुभयो ।

मन्त्री अधिकारीले स्थानीय तवरबाट जति छिटो सुझाव आउँछ त्यति छिटो काम हुने बताउनुभयो । सोही क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विमानस्थलको सुरक्षाका लागि विमानस्थलबाट पत्र आएपछि प्रक्रिया शुरु गरिने बताउनुभयो । भरतपुर विमानस्थलको अवतरणीय क्षेत्रमा संरचना निर्माण र धावनमार्ग छोटो भएकाले भरतपुर विमानस्थललाई लुक्लापछिको जोखिमपूर्ण विमानस्थल भनिँदै आएको छ ।
रासस