समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रवाह बढ्दो

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
नेपाल प्रहरीले केहि समय अगाडी देशैभरका सबै जिल्लामा एकैसाथ सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडांडीमा समेत प्रभावकारी तरिकाले अगाडी बढेको छ ।

इलाका प्रहरी कार्यालय बेलडांडी मार्फत झिलमिला प्रहरी चौकी र बेलडांडी गाउँपालिलका वडा नं. ४ को समन्वयमा गठन भएको उक्त समितिले शनिवार सो वडामा रहेका मदिरा पसलहरुमा चेक जाच गरेको वडासदस्य चन्द बहादुर खडकाले जानकारी गराउनु भयो । उनका अनुसार आफ्नो वडा भित्र रहेका १८ वटा मदिरा पसललाई प्रकृया अनुसार मदिरा बक्री बितरण गर्ने ७ दिने सुचना गरेको बताउदै १८ मध्ये १५ मदिरा पसलेहरुले प्रकृया पालना गरेको र ३ मदिरा पसलेहरुले सुचनाको अवज्ञा गरेको बताइएको छ । ति पसलेहरुलाई प्रकृया अनुसार कार्य गर्न चेतावनी दिइएको छ ।

उक्त वडाका वडाध्यक्ष विर बहादुर खडकाका अनुसार “हाम्रो गाउँपालिकाले मदिरा व्यवसाय संचालन कार्यविधी बनाएको छ, सो अनुसार आफ्नो वडामा उक्त नियम कार्यान्वयन गर्नको लागि अनुगमन गरिएको बताए ।” समुदायमा विभिन्न जाड रक्सीका करण हुने अपराधिक घटनालाई न्युनिकरण गर्न यस्तो कदम चालेको बताए ।

बेलडांडी इलाका प्रहरीका अनुसार प्रहरीले गर्ने कार्यहरु लागु औषध नियन्त्रण, जुवातास नियन्त्रण तथा समाजमा हुँने गरेका नकारात्मक कार्यहरुलाई नियन्त्रण गर्न, नागरिकको ज्यु धनको रक्षाका साथै अमनचयनका लागि प्रहरी संगै स्थानीय तहको साथ र सहयोगले अगाडी बढ्ने गरी स्थानीय तह र प्रहरी बीच सम्झौता गरिएको बेलडांडी प्रहरी प्रमुख दान बहादुर रोकायाले जानकारी दिए ।

प्रहरीलाई आफ्ना काम, कर्तव्यहरु पूरा गर्नमा सहयोग पुग्ने गरी गृह मन्त्रालयले देशैभरका सबै जिल्लामा एकैसाथ समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको थियो । यसअघि नेपाल प्रहरीले प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा लगायतका लोकप्रीय कार्यक्रम लागु गरी नागरीक र प्रहरी बीचको सम्बन्ध नजिक तुल्याउने कार्य गरेको थियो ।