प्रतिनिधिसभाको बैठक २ सातापछि सुचारु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आइतबारदेखि सुचारु भएको छ । बैठक २ साताअघि अवरोध हुँदै आएको थियो । अवरोधबीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नै पारित भइसकेको छ ।

बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठेर विरोध गरेको थियो । सभामुख कृष्णबहादुर महराले विपक्षीको माग पूरा भएको भन्दै कांग्रेस सांसद् गगनकुमार थापालाई बोल्ने समय दिनुभएको थियो । सांसद थापाले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा सक्रियता नदेखाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले उद्योगधन्दा बन्द भएको र लगानीको वातावरण नबनेको बताउनुभयो ।

सरकारले तथ्यांक गलत दिएर जनतालाई ढाँटेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेपनि जताततै भ्रष्टाचार र अनियमितता बढेको तर्क गर्नुभयो । प्रधानमन्त्रीको अनुहारमा दाग लागेको भएपनि ऐनामा फोहोर भएको भन्ने तर्क अस्वभाविक भएको उहाँले बताउनुभयो ।

एकपछि अर्को काण्ड र घटनाले आफूहरुलाई चिन्ता लागेको भन्दै उहाँले संसद अवरोध गर्ने आफ्नो चाहना नभएको बताउनुभयो ।

थापाले सडक र सदनबाट नै विपक्षी भएको देखाइदिने जनाउनुभयो । कांग्रेसले यसअघि तनहुँमा स्थापना गरिएको गिरीजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा स्थापना भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहत नराखेको र डा. गोबिन्द केसीको जिवनरक्षाको माग गर्दै संसद २ साताअघिबाट अवरोध गर्दै आएको थियो । केसीले गत शुक्रबार साँझ १६ औं पटकको अनसन तोड्नुभएको थियो ।