सरोज यादव, विराटनगर
नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न विराटनगर बस टर्मिनल बिहीबारबाट औपचारिकरूपमा सञ्चालनमा आएको छ। विराटनगर–११ स्थित पुरानो बसपार्कलाई भत्काएर निर्माण गरिएको सो बस टर्मिनलको प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले बुधबार एक समारोहका बीच उद्घाटन गरे।
बस टर्मिनलको उदघाटन गदर््ै मुख्यमन्त्री राईले संकल्प गर्ने हो भने विकास निर्माणका तोकिएका काम समयमै पूरा हुने उदाहरण विराटनगर महानगरपालिकाले प्रस्तुत गरेको भन्दै निर्माण कार्यको प्रशंसा गरेका छन्। उनले तोकिएकै समयमा विराटनगर बस टर्मिनल निर्माण सकेर महानगरले नमुना कार्य प्रस्तुत गरेको दाबी गरे।
मुख्यमन्त्री राईले कुनै पनि विकास निर्माणका काम गुणस्तरमा आधारित हुनुपर्ने बताउँदै पूर्वाधारको सही सदुपयोग गरिनुपर्ने बताए। कार्यक्रममा नगर विकास कोषका अध्यक्ष धु्रव रिजालले नवनिर्मित बस टर्मिनललाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि निजी क्षेत्रलाई ठेक्का दिनुपर्ने सुझाव दिए। उनले सो बस टर्मिनलमा शयन कक्षलगायतका केही कक्ष थपिनुपर्ने बताउँदै सहयोगका लागि नगर विकास कोष तयार रहेको बताए। कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्याधुनिक सुविधासम्पन्न अढाइ तले भवनसहित पूर्व क्षेत्रकै नमुनाका रूपमा ३० कठ्ठा क्षेत्रमा निर्माण गरिएको सो बस टर्मिनलमा एकपटकमा साना ठूला गरी ५० देखि ५४ वटासम्म बस रोक्न मिल्ने बताए।
उनले नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले बस टर्मिनल निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएकामा तोकिएकै समयमा सो कम्पनीले काम पूरा गरेको जानकारी दिए। २०७३ साल मंसिर १९ गते शिलान्यास भई २०७५ असोज १४ गते सम्पन्न भएको उक्त टर्मिनल ३० कठ्ठा जग्गामा ५ हजार ५ सय ८० स्क्वायर मिटरमा निर्माण गरिएको छ। टर्मिनलमा २० हजार लिटर पानी अट्ने वाटर ट्यांकसमेत निर्माण गरिएको टर्मिनलका प्रोजेक्ट इन्जिनियर अर्जुन थापाले जानकारी दिए। कार्यक्रममा १ नं। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, १ नं। प्रदेश विपक्षी दलका प्रमुख सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादव, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेललगायतले व्यवस्थित बस टर्मिनल सञ्चालनका लागि शुभकामना व्यक्त गरेका थिए। बुधबारबाट सञ्चालनमा ल्याइएको बस टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेस्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय रहेका छन्।
पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतिक्षालय र पसल रहनेछन् भने दोस्रो तलामा रेस्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहनेछन्। बस टर्मिनल सञ्चालनसँगै वर्षाको बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धूलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयबासीले अब राहत पाउनेछन्।











प्रतिक्रिया