पुजारीलाई हटाउन माग गर्दै प्रदर्शन

0
Shares

काठमाडौं, (नेस)
बौद्ध स्तुपाको बौद्ध घ्याङ गुठीका पुजारी भूपतिबज्र लामालाई हटाउन माग गर्दै बिहीबार बौद्धमा प्रदर्शन भएको छ। उनीहरूले बौद्ध स्तुपासँगै सडक परिक्रमा गरेर आफूहरूका माग राखेका छन्।

पुजारी लामाले बौद्ध स्तुपाको अस्तित्व समाप्त पारेको र स्तुपालाई मास्ने काम गरेको भन्दै बौद्ध बचाऊ संघर्ष समितिले बिहीबारबाट दोस्रो चरणको संघर्षको कार्यक्रम सञ्चालन गरेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताउनुभयो। हटाउन खोजिएका लामालाई गुठी संस्थानले २०७३ असार ७ गते नियुक्ति दिएको हो। ५ वर्षका लागि नियुक्त भएका लामाले बौद्धलाई कुरुप पारेको, व्यवस्थित गर्न नसकेको तथा भौतिक संरचनालाई ध्वस्त पार्ने काम गरेको समितिका प्रवक्ता सम्पूर्णकुमार लामाले बताउनुभयो।

‘जुन उद्देश्यले उहाँलाई नियुक्त गरिएको थियो त्योअनुसारको काम भएन’, प्रवक्ता लामाले भन्नुभयो– ‘हामी यो अभियानको टुंगो नलागुन्जेलसम्म संघर्ष जारी राख्छौं।’ उहाँले सबैको सहमतिमा स्थानीयलाई त्यसको जिम्मा दिनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो।

चिनियाँ लामा भूपतिबज्रले बौद्धलाई ध्यान नदिएको पनि आरोप लगाइएको छ। अधिकांश समय विदेशमा रहने उनले स्तुपालाई बनाउन नसक्ने स्थानीयको भनाइ छ। भूपतिबज्रको नागरिकता पनि शंकास्पद रहेको बताइएको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले स्थानीयबासीहरूको समेत सहभागितामा आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। ‘पहिलो चरणमा विभिन्न निकायमा यसबारे ज्ञापनपत्र बुझायौं, त्यो प्रभावकारी हुँदै गएपछि दोस्रो चरणको संघर्ष थालेका हौं’, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले भन्नुभयो– ‘यो कार्यक्रम गरिरहँदा प्रहरी प्रशासनबाट अवरोध भएको छ तर पनि स्थानीयको सहयोगले निष्कर्ष निकाल्छौं।’ संघर्ष समितिले शुक्रबार गुठी संस्थान गएर यी समस्याबारे जानकारी दिने कार्यक्रम बनाएको छ।

बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध घ्याङ गुठीमा सरकारी नियुक्ति हुने गरेको छ। भूपतिबज्रले आफूलाई बौद्धगुरु रिम्पोछेको औतारी भन्दै आएको र स्तुपाभित्र गरिने सामान्य पूजापाठ र अन्य काममा पनि सर्वसाधारणलाई अनुमति नदिने गरेको आरोप पनि लगाइएको छ।