पुजारीलाई हटाउन माग गर्दै प्रदर्शन

0
Shares

काठमाडौं (नेस) ।
बौद्ध स्तुपाको बौद्ध घ्याङ गुठीका पुजारी भूपतिबज्र लामालाई हटाउन माग गर्दै आज बौद्धमा प्रदर्शन भएको छ । उनीहरुले बौद्ध स्तुपासँगै सडक परिक्रमा गरेर आफूहरुका माग राखेका छन् ।

पुजारी लामाले बौद्ध स्तुपाको अस्तित्व समाप्त पारेको र स्तुपालाई मास्ने काम गरेको भन्दै बौद्ध बचाउ संघर्ष समितिले आजबाट दोस्रो चरणको संघर्षको कार्यक्रम सञ्चालन गरेको बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामाले बताउनुभयो ।

हटाउन खोजिएका लामालाई गुठी संस्थानले २०७३ असार ७ गते नियुक्ति दिएको हो । ५ वर्षका लागि नियुक्त भएका लामाले बौद्धलाई कुरुप पारेको, व्यवस्थित गर्न नसकेको तथा भौतिक सञ्रचनालाई ध्वस्त पार्ने काम गरेको समितिका प्रवक्ता सम्पूर्णकुमार लामाले बताउनुभयो । ‘जुन उद्येश्यले उहाँलाई नियुक्त गरिएको थियो त्यो अनुसारको काम भएन’ प्रवक्ता लामाले भन्नुभयो ‘ हामी यो अभियानको टुंगो नलागुञ्जेलसम्म संघर्ष जारी राख्छौं ।’ उहाँले सबैको सहमतिमा स्थानीयलाई त्यसको जिम्मा दिनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

चिनिया लामा भूपतिबज्रले बौद्धलाई ध्यान नदिएको पनि आरोप लगाइएको छ । अधिकांश समय विदेशमा रहने उनले स्तुपालाई बनाउन नसक्ने स्थानीयको भनाई छ । भूपतिबज्रको नागरिकता पनि शंकास्पद रहेको बताइएको छ । बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामाले स्थानीयबासीहरुको समेत सहभागितामा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।

‘पहिलो चरणमा विभिन्न निकायमा यसबारे ज्ञापनपत्र बुझायौं त्यो प्रभावकारी हुँदै गएपछि दोस्रो चरणको संघर्ष थालेका हौं’ बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामाले भन्नुभयो ‘ यो कार्यक्रम गरिरहँदा प्रहरी प्रशासनबाट अवरोध भएको छ तरपनि स्थानीयको सहयोगले निश्कर्ष निकाल्छौं ।’ संघर्ष समितिले भोलि गुठी संस्थान गएर यी समस्याबारे जानकारी दिने कार्यक्रम बनाएको छ ।

बौद्धनाथ क्षेत्र बिकास समिति र बौद्ध घ्याङ गुठीमा सरकारी नियुक्ति हुने गरेको छ । भूपतिबज्रले आफूलाई बौद्धगुरु रिम्पोछेको औतारी भन्दै आएको र स्तुपाभित्र गरिने सामान्य पुजापाठ र अन्य काममा पनि सर्वसाधारणलाई अनुमति नदिने गरेको आरोप पनि लगाइएको छ ।