मापदण्ड विपरित क्रसर उद्योगः सर्वोच्चको फैसलालाई लत्याउँदै निर्माण कार्य जारी

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा नियमविपरित क्रसर उद्योग स्थापना गर्न लागिएको भेटिएको छ । बेदकोट नगरपालिका–९ सुन्दरपुरमा उदयदेव अनमोल क्रसर उद्योग नाम दिएर त्यस क्षेत्रका धनाढ्यहरुले नियम विपरित क्रसर उद्योग स्थापना गर्न लागिएको भेटिएको हो ।

मानव स्वास्थ्य र वातावरणमा पर्ने असरको कुनै मूल्याङकन नै नगरी गाउँको बिचैमा क्रसर उद्योग निर्माणको काम धमाधम चलिरहेको छ । गाउँको स्वच्छ वातावरणमा पर्ने प्रतिकुल असरमा ध्यानै नदिई एकलौटी तरिकाले गाउँको सौन्दर्य कुरुप बनाउने कु–चेष्टा गरिएको छ ।

नारद पाण्डेय, तेजबहादुर चन्द र खिमानन्द अवस्थी लगायतले सञ्चालन गर्न लागेको क्रसर उद्योग मापदण्ड विपरित घना मानवबस्तीको बिचमा कृषि योग्य जमीनलाई तहसनहस पार्ने किसिमले निर्माण भइरहेको हो ।
उद्योग स्थापना हुनुपुर्व वातावरण प्रभाव मूल्याङकन गर्नु पर्ने भएपनि प्रभाव मूल्याङकन नै नगरी एकलौटी तरिकाले मानव अस्तित्व नै सखाप पार्ने तवरले क्रसर निर्माण भइरहेको छ ।

क्रसर उद्योग स्थापना हुनुभन्दा अगाडी वातावरण प्रभाव मूल्याङन मापदण्ड अनुसार खोलाकिनार र राजमार्गबाट ५०० मिटर, घनाबस्ति, धार्मीक पुरातात्विक महत्वको स्थान, शिक्षण संस्था, सुरक्षा निकायबाट २ किलोमिटरको दुरीमा हुनुपर्ने हुन्छ । तर उद्योग निर्माणस्थल नजिकै घना मानववस्ति, सरकारी कार्यालय, स्कुल तथा क्याम्पस रहेका छन् । संघर्ष समितिका सचिव रुद्रराज भट्टका अनुसार उद्योग निर्माणस्थल नजिक ८ सय ५० परिवारको घनाबस्तीका साथै उदयदेव माध्यमिक विद्यालयसहित अन्य निजि लगानीमा सञ्चालित विद्यालय रहेका छन् भने करिब ५ मिटरको दुरीमा सोताह नदी पनि रहेको छ ।

उद्योग स्थापनाका लागि विभिन्न पर्लोभन देखाई स्थानीयहरुलाई हस्ताक्षर गरेर सहमतीमा ल्याइएको पाइएको छ । संघर्ष समितिकी कोषध्यक्ष पार्वती भट्ट (जोशी)ले थ्रेसर ल्याउछौँ भनेर स्थानीय सोझा–साझा नपढेकालाई जालसाजी गरी हस्ताक्षर गराएको आरोप लगाईन । उद्योग निर्माणको प्रक्रिया पास गर्दा निर्माणस्थल वरपर कुनै घना मानवियवस्ति नभइ ३ परिवार मात्र बसोबास गर्ने गरेको भनि उद्योग पक्षले गरेको संघर्ष समितिका सचिव रुद्रराज भट्टले बताए ।

चुनावमा अवैध तरिकाले प्रक्रिया मिचेर निर्माण भइरहेको क्रसर उद्योग बन्द गर्ने प्रतिवद्धता जनाएका बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले पनि उक्त बिषयमा कुनै वास्तानै नगर्ने गरेको स्थानीयबासीको आरोप रहेको छ ।
चुनावको बेला मेयर चन्दले जनाएको प्रतिवद्धता पुरा नगरेको भन्दै संघर्ष समितिका सचिव रुद्रराज भट्टले यस विषयमा बेलाबेलामा जानकारी गराउँदा पनि कुनै तदारुकता नै नदेखाउने गरेको बताए ।

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगको दर्ता भएको प्रमाणपत्रमा उल्लेखित ६ महिने निर्माण अवधि सकिएको छ । तर हाल पनि उद्योगको निर्माण कार्य जारी रहेको छ ।

मापदण्ड पुरा नगरी अवैध तरिकाले निर्माण भइरहेको क्रसर उद्योग विरुद्ध त्यहाँका स्थानीयहरु संघर्ष समिति गठन गरेर विरोधमा उत्रेका छन् । गत माघ १३ गते गठन भएको संघर्ष समितिले अवैध उद्योग विरुद्ध आफ्ना सर्घषका कार्यक्रम सार्वजनिक गरेको छ । मापदण्ड विपरित घना मानवबस्तीको बिचमा कृषि योग्य जमीनलाई तहसनहस पार्ने किसिमले निर्माण भइरहेको उद्योग निर्माण कार्य रोक्नु पर्ने माग गर्दै बिरोधका कार्यक्रम सार्वजनिक गरिएको हो ।