राणा र लोहनीको राप्रपा एकिकरण हुँदै

0
Shares

राणा र लोहनीको राप्रपा एकिकरण हुदै

रामकृष्ण चापागाईं
काठमाडौं
पशुपति शमसेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच पार्टी एकता हुने भएको छ । कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी भने अलग नै रहेको छ ।

राजतन्त्र र हिन्दुराज्यको पक्षमा दुवै पार्टी एक भएका छन् । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) राख्ने सहमति भएको बताइएको छ । आज शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि दुई राप्रपा एकिकरण गर्ने तयारी भैरहेको छ । दुईपार्टी वीच चुनाव चिन्ह हलो राख्ने सहमति भएको छ । तीनै वटा राप्रपा एकिकरण गर्ने गरि वार्ता अघि बढेपनि अन्तिममा नेतृत्व र सिद्धानतको बारेमा कुरा नमिल्दा कमल थापाको नेतृत्वमा रहेको राप्रपा बाहिरिएको थियो ।

यसअघि संसदमा चौथो ठुलो दलको रुपमा रहेको राप्रपाले अहिलेको निर्वाचनबाट दलको हैसियत समेत गुमाउन पुगेको छ । थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपाले २०७३ साल फागुनमा एकता महाधिवेशन गरि एकिकृत भएका थिए । त्यतिवेला लोहनी राणा नेतृत्वको राप्रपामा थिए । महाधिवेशनले अध्यक्षमा थापालाई निर्वाचित गरेको थियो । महाधिवेशन पछि महाधिवेशनबाट स्वीकृत विधान अनुसार र एकिकरण हुनुपुर्व शीर्ष नेतावीच भएको मौखिक सहमतिलाई उलंघन गरि अध्यक्ष थापाले पार्टी एकलौटी ढंगले संचालन गरेको भन्दै डा. लोहनीले अध्यक्ष थापालाई ११ बुदे पत्र लेखेर पार्टी परित्याग गरेका थिए । लोहनीले त्यपछि अन्य नेताहरु संग मिलेर नया पार्टी राप्रपा (राष्ट्रबादी) गठन गर्नुभएको थियो ।

एकता महाधिवेशन पुर्व राप्रपाका शीष नेतावीच पार्टीको अध्यक्ष थापा बन्ने र डा. लोहनीको नेतृत्वमा वरिष्ठ नेताहरुको ११ सदस्यीय नीति निर्धारण तथा निर्देशन समिति बनाउने भन्ने सहमति भएको थियो । यो निर्देशन समितिले पार्टी नीति बनाउने र पार्टीलाई समेत निर्देशन दिने उल्लेख थियो । यो समिति एकता महाधिवेशन सम्पन्न भएको एक महिना भित्र बनाइसक्नु पर्ने भएपनि अध्यक्ष थापाले निर्देशन समिति गठन गर्न आलटाल गरेपछि डा. लोहनी बाहिरिएका थिए । एकता महाधिवेशनमा अध्यक्षको लागि उमेद्वारी दिने तयारीमा रहेका लोहनीलाई निर्देशन समितिको अध्यक्ष बनाउने भनेकोले उहाले महाधिवेशनमा पार्टी अध्यक्षको लागि उमेद्वारी दिनुभएको थिएन ।
राप्रपाबाट लोहनी बाहिरिए पछि निर्देशन समितिको अध्यक्ष राणालाई बनाउनुपर्ने माग उठेको थियो । यहि वीचमा अध्यक्ष थापाले पार्टीको सबै मनोनयन तथा नियुक्ति प्रक्रियामा पार्टीमा तथा शीर्ष नेताहरुवीच छलफल नै नगरि एकलौटी ढंगले अघि बढेको भन्दै राणा समेत असन्तुष्ट बन्नु भएको थियो । अध्यक्ष थापा पार्टीलाई थाहा नै नदिई पार्टी भित्र कुनै छलफल नै नगरि उपप्रधान तथा स्थानिय विकास मन्त्रि भएपछि राप्रपा भित्रको विवाद अझ चुलिदै गएको थियो । प्रथम चरणको निर्वाचनमा राप्रपाले नराम्ररी हारेपछि पार्टीभित्र अध्यक्ष थापाको राजिनामा अथवा निर्देशन समिति गठन गर्न दबाब बढेको थियो । अध्यक्ष थापालाई असन्तुष्ट पक्षले अध्यक्ष र संसदीय दलको नेताबाट समेत हटाउने रणनीति बनाउन थालेपछि उहाले एकलौटी ढंगले ४३ जना केन्द्रिय सदस्य मनोनित गरि सुरक्षित भएका थिए ।

यहि वीचमा मधेशको माग संवोधन गर्न ल्याइएको संविधान संशोधन प्रस्ताव पारित गर्ने उदेश्यले संसदमा ल्याइएको बेला राप्रपाका १४ जना सांसद अनुपस्थित भएपछि राप्रपा विभाजन उम्नुख तर्फ अघि बढेको थियो । अन्तत राणाले पार्टी विभाजन गरि राष्ट्रिय प्रजातन्त्र पाटी (प्रजातान्त्रिक) गठन गर्नुभएको थियो ।