महाकालीमा अन्त्येष्टि घाटको शिलान्यास

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
महाकाली नदीमा अन्तिम संस्कारकालागि घाट निर्माण हुने भएको छ। सोमबार भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदी छेउमा अन्त्येष्टि घाट शिलान्यास गरिएको छ ।

घाट नहुँदा यहाँका बासिन्दाले अन्तिम संस्कारमा सास्ती भोग्दै आएका थिए। यसको निर्माण पछि राहत हुने स्थानीयले बताएका छन् । निश्चित आर्यघाट नहुँदा विरोध र विवाद हुँदै आएको छ । कहिले भुजेला, कहिले पिपरिया त कहिले झोलुंगे क्षेत्रमा अत्येष्टि गर्नु परेको छ । स्थानीयवासीले दुर्ग्न्धित हुने भन्दै आन्दोलन थालेपछि शव जलाउनकै लागि समस्या हुने गरेको छ ।

स्थानीयहरुले अन्त्येष्टि घाटको निर्माणका लागि भनेर पटक पटक आन्दोलन पनि गरेका थिए, तर लामो समयको प्रतिक्षापछि भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदीमा अन्त्येष्टि घाट हुने भएको छ ।

एक औपचारिक कार्यक्रममा भीमदत्त नगरपालिकाले अन्त्येष्टि घाटको शिलान्यास गरेको छ । भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले लामो समयदेखिको जनताको माग र यस क्षेत्रको समस्यासंगै आवश्यकता पनि भएका कारण नगरपालिकाले शहरी विकाससंगको समन्वयमा अन्त्येष्टि घाट निर्माण भैरहेको बताए ।

यसले गर्दा आफ्नो अन्तिम संस्कारसम्म गर्न नपाउने र अन्तिम संस्कार गर्दा समेत जनताको भोग्नुपरेको समस्या समाधान हुने भन्दै यसमा जनताको साथ सहयोग र समर्थनले सम्भव भएको उनले बताए ।

स्थानीय बासिन्दाहरुले आफुहरुले अन्तिम संस्कार गर्दा भारतको शारदा ब्यारेजबाट कहिले बढि पानी छोडिदिने त कहिले पानी नै नहुने झन्झट बेहर्नुपरेको थियो । यसको निर्माणपछि आफूहरुलाई सहज हुनेमा स्थानीय आशावादी छन् ।

झण्डै १० करोड भन्दा बढीको लागतमा गुरुयोजना अनुरुप निर्माण हुने अन्त्येष्टि घाटको प्रारम्भिक कार्य साढे तीन करोडबाट शुरु भएको छ ।