गुणस्तरिय स्वास्थ्य सेवाका लागि सामुदायिक स्वास्थ्य इकाई

0
Shares

सरिता चलाउने, सल्यान ।

हरेक समुदायका आम नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउन सल्यानका विभिन्न स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहुन भन्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो ।

सामान्य विरामी हुँदा पनि घण्टौं हिड्नुपर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । सामान्य टाउको दुख्दा पनि एक चक्की सिटामोल लिन घण्टौ लामो पैदल हिडेर स्वास्थ्य चौकीसम्म पुग्नु पर्ने बाध्यता अहिले सामुदायिक स्वास्थ्य इकाइको स्थापना भएपछि रोकिएको सेवाग्राहीको भनाइ छ ।

नेपाल सरकारको एक वडा एक स्वास्थ्य चौकीको नीति अनुरुप स्वास्थ्य सेवाको पहँुचभन्दा टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गरी सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरी रहेको दार्मा गाउँपालिका अध्यक्ष नीम बहादुर केसी बताए । उनले भने ‘जनतलाई पायक पर्ने र ठुलो भूगोलमा बस्ने सर्वसाधारणलाई स्वास्थ्यको सहज पहँुचका दिने उद्देश्यका साथ यो वर्ष दुई वटा वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौ ।’

स्वास्थ्य चौकी नभएका ठाउँहरुमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी जनतालाई घरदैलौबाटै सेवा प्रदान गरी रहेको शारदा नगरापलिकाका प्रमुख सुरेश अधिकारीले बताए । १५ वडा रहेको नगरपालिकामा यो वर्ष मात्रै चार स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको र अर्को आर्थिक वर्षमा थप दुई स्थानमा स्थापना गर्ने योजना रहेको उनले बताए ।

यस्तै कालिमाटी गाउँपालिकामा मात्रै पाँच वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर खत्री केसीले बताए । स्थापना गरिएका सामुदायिक स्वास्थ्य इकाईमा सेवा प्रवाहका लागि गाउँपालिकाले नयाँ ११ दरबन्दी सृजना गरेको उनले बताए ।

आफ्नै गाउँघरमा सहज रुपमा स्वास्थ्य सेवा लिए पछि निकै खुशी भएको दार्मा गाउँपालिका वडा न ६ ज्यामिेरका धन बहादुर विकले बताए । उनले भने ‘पहिला सामान्य रोग लाग्दा पनि चार घण्टा पैदल हिडेर ढाकाढाम, भल्चौर जानुपर्ने बाध्यता थियो । त्यो बाध्यता अव हटेको छ ।’