विद्यार्थी नेताहरुले भनेः स्ववियु निर्वाचन शान्तिपूर्ण हुनुपर्छ

0
Shares

काठमाडौँ, विद्यार्थी नेताहरुले आगामी फागुन १४ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले प्रतिपक्षका विद्यार्थीलाई पक्राउ गर्ने, कुटपिट गर्ने जस्ता कार्यले विद्यार्थीलाई उत्तेजित गर्ने कार्य गरिरहेको भन्दै निर्वाचन निष्पक्ष तथा धाँधलीरहित वातावरणमा गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले स्ववियु निर्वाचन गर्ने त्रिभुवन विश्वविद्यालयको पात्रोअनुसार नै फागुन १४ गते स्ववियुको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले त्रिविले सबै विद्यार्थी सङ्गठनलाई बोलाएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले नेकपाको एकीकरणसँगै विद्यार्थी सङ्गठनहरु पनि एकताबद्ध भई निर्वाचनमा होमिए पनि नेवि सङ्घलाई कुनै असर नपर्ने बताउनुभयो । उहाँले नेवि सङ्घ प्रजातन्त्रमा विश्वास राख्ने सङ्गठन भएकाले चुनावबाट भाग्ने प्रश्न नै उठ्दैन भन्दै लामो समयदेखि वर्चस्व राख्दै आएको यो सङ्गठनले फागुनको निर्वाचन जित्ने बताउनुभयो ।
रासस