४ महिना देखीे पढाइ नभएको भन्दै विद्यालयमा ताला

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानको एक माध्यमिक विद्यालयमा विगत चार महिना देखी तीन विषयको अध्ययन अध्यापन नभएको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको कुमाख गाउँपालिकामा रहेको बुद्घजनकल्याण माध्यमिक विद्यालय विगत चार महिना यता विषयगत शिक्षक नहँुदा पठनपाठनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

कात्तिक महिना देखी यता कक्षा ९ र कक्षा १०को विज्ञान विषयको पढाई ठप्प हुंदा पठनपाठनमा समस्या भएको कक्षा १० मा अध्ययनरत छात्र विनोद बुढाथोकीले बताए। चार महिना वितिसक्दा समेत शिक्षकको पदपुर्ती नहुंदा विज्ञान विषयको कोर्ष अधुरै रहेको उनले गुनासो गरेका छन्। चार महिना वितिसक्दा पनि विज्ञान जस्तोविषय पढाई नभएका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको उनले बताए ।

यस्तै ८ कक्षाको विज्ञान,गणित र पेशा व्यवसाय विषयको कोर्ष पनि चार महिनादेखी बन्द भएको कक्षा ८ मा अध्ययनरत छात्र दीपक केसीले जानकारी दिएका छन् । विगत चार महिनादेखी शिक्षक सरुवा भएर गएको र कोही घर विदामा गएका शिक्षक पनि नफर्किएपछि ति विषयको अध्यन गर्न समस्या भएको उनले गुनासो गरेका छन् ।

वार्षिक परिक्षा आउन केही महिनामात्रै बाँकी छँदा समेत विद्यालयमा विषयगत शिक्षकको विकल्प नगरेको भन्दै तालाबन्दी गर्नु परेको कक्षा ९मा अध्यनरत छात्र युवराज खड्काले जानकारी दिएका छन् । उनले भने ‘हामीले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिसंग पटक पटक पढाई संचालन गर्न शिक्षकको माग गर्यो तर अहिले सम्म पनि सुनुवाई भएन्‘ । हामीले पढ्न पाउने अधिकारबाटै वन्चित हुनुपर्दा समेत कसैले वास्ता गरेन,त्यसैले बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नु परेको हो ।’

विद्यालयमा तत्काल शिक्षकको पदपुर्ति गर्नु पर्ने र नियमित सबै विषयको कक्षा संचालन गर्ने लिखित सहमति नहुँदा सम्म तालाबन्दी नखोलिने लगायतका ९ बुंदे माग आफुहरुको रहेको खड्काले बताए ।