कृष्णउदास खनाल, वीरगन्ज
पर्साको पोखरीया नगरपालिकास्थित पोखरीया अस्पतालमा एक महिना अघिदेखि एक्सरे मेशिन बिग्रिएको छ ।
एक्सरे मेशिन बिग्रिएका कारण अस्पतालबाट प्रदान हुँदै आएको एक्सरे सेवा प्रभावित भएको छ ।अस्पतालबाट सहुलियतमा पाउँदै आएको एक्सरे सेवा नपाउँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा उपचारका लागि पुगेका विरामीहरु एक्सरे गराउन नीजि स्वास्थ्य संस्थामा जान बाध्य भएका छन् ।नीजि स्वास्थ्य संस्थामा अस्पतालको भन्दा बढी शुल्क तिर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । अस्पतालले १ सय ५० रुपैयाँमा दिइरहेको सेवाका लागि नीजि क्लिनिकहरुले २ सय देखि २ सय ५० रुपैयाँ शुल्क लिने गरेका छन् । अस्पतालमा ५ देखि १० वटा एक्सरे दैनिक हुने गरेको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवले एक्सरे मेशिन मर्मतका लागि प्रक्रिया अघि बढीसकेको जानकारी दिए । ‘एक्सरे मेशिन विग्रिएकोएक महिनादेखि एक्सरे सेवा ठप्प छ । मैले विभागमा जानकारी गराएँ, दुईपटक प्राविधिकहरु आएर हेरेर गईसक्नुभएको छ,’ उनले भने, ‘के बिग्रिएको हो भनेर पत्ता लाग्न सकेको छैन ।’अस्पतालमा पुरानो एक्सरे मेशिन भएपनि विभागको निर्देशन विना आफूले त्यसको सञ्चालन गर्न नसक्ने उनको भनाइ छ ।पर्साको ग्रामीण क्षेत्रमा रहेको एक मात्र सरकारी अस्पताल पोखरीया अस्पतालमा पोखरीया बाहेक आसपासका पालिकाका बासिन्दा पनि उपचारका लागि आउने गरेका छन् ।
भौतिक संरचनायुक्त भएपनि अस्पतालमा आवश्यक दक्ष जनशक्ति, औषधि, उपकरणको अभावका कारण रिफरल अस्पतालको रुपमा परिचित छ ।पर्सा जिल्लाको मध्य भागमा पर्ने र जिल्लाको धेरै ग्रामीण क्षेत्रका लागि पायक पर्ने १५ बेडको पोखरीया अस्पतालको ओपीडिमा दैनिक १ सय जना जति बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।











प्रतिक्रिया