सरकार लगानी सम्मेलन गर्ने तयारीमा छः मन्त्री बास्कोटा

0
Shares

मोतिराम तिमल्सिना
काभ्रे
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले निष्क्रिय रहेको पुँजीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तथा सहकारीहरुलाई आव्हान गरेका छन् ।

जिल्लाको पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं स्थापना दिवस तथा रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले राजनीतिक आन्दोलन सकिए सँगै सरकारको मुख्य ध्यान उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन केन्द्रित रहेको बताए ।

मन्त्री बाँस्कोटाले सरकार अब कुनै खुद्रे कुरामा अल्झन नसक्ने बताउँदै छिटो भन्दा छिटो प्रगती गर्न उत्पादन क्षेत्रलाई प्राथमिकता दिइने बताए । ‘सरकारले कृषि, पर्यटन, पशुपालन, सञ्चार, यातायात, जलविद्युत, पुर्वधार लगायत आठ क्षेत्रलाई उत्पादन बढाउने मुख्य इन्जिनको रुपमा अगाडि सारेका छौ’–उनले भने–‘सरकारको लगानी केन्द्रित गर्न आगामी चैत्रमा लगानी सम्मेलनको आयोजना गरिएको छ ।’

सरकारले तिव्र आर्थिक बृद्धिदर कायम गराउने लक्ष्य लिइरहेको बताउँदै मन्त्री बास्कोटाले राष्ट्रिय आर्थिक बृद्धिदर छ प्रतिशत पुग्ने संकेत देखिनु मुलुकका लागि सकारात्मक भएको बताए ।

मुलुक विकासको चरणमा प्रवेश गरेकाले ठूला, मझौला पुर्वधारहरुसँगै पुल, बाटो, हाइड्रोपावर बन्ने क्रम तिव्र गतीमा रहेको बताए ।

कार्यक्रममा सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराले सहकारी ऐन २०७४ आए पनि त्यस अनुसारको नियमावली बन्न ढिलाई हुँदा काम गर्न अप्ठेरो परेको बताए । २५ बर्ष अगाडी ४१ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले २० हजार शेयर सदस्य र एक अर्ब ६२ करोड कारोबार गर्न सफल भएको बताए ।

जिल्लाका आम नागरिकलाई सामुदायिक सहकारीको सदस्य बनाउने अभियानमा लागेको बताउँदै १३ वटै स्थानीय तहमा सेवा केन्द्र खोलिरहेको बताए । जन्मे देखि मृत्युसम्म सहकारीको सहयोग रहेको बताउँदै उनले सहकारी मार्फत ब्यक्तिको जीवन परिवर्तन मात्रै नगरेको कृषि र पशुपालन क्षेत्रमा समेत समृद्धी ल्याएको बताए ।

सोहि अवसरमा सहकारीले जिल्लामै पहिलो पटक एटिएम सेवा शुरु गरेको छ । पनौती बसपार्कमा रहेका उक्त एटिएम सेवाबाट जुनसुकै बैकका एटिएम कार्ड प्रयोग गर्न सकिनेछ । स्मारिका विमोचन, सदस्यहरुको सम्मान तथा विविध कार्यक्रम रजत महोत्सवमा आयोजना गरिएको सचिव मुकुन्द शर्माले बताए । कार्यक्रममा सासंदहरु तथा जनप्रतिनिधिहरु र संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।