अवैध लिज घोटालाःसंयुक्त संघर्ष समितिले गर्यो कञ्चनपुर बन्द

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
महेन्द्रनगर नगर विकास समितको जमीनमा अवैध लिजमा खडा गरिएका संरचना हटाउनु पर्ने माग गर्दै विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले मंगलवार बिहानदेखि अनिश्चितकालिन बन्द गरेका छन् ।

महेन्द्रनगर बजारको सौन्दर्यलाई नै कुरुप बनाउने किसिमले खडा गरिएका अवैध संरचना हटाउन सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाई नै नभएकाले अन्तिम लडाई स्वरुप आमहड्तालको घोषणा गरिएको संयुक्त युवा विद्यार्थी संघर्ष समितिले जनाएको छ ।

चरणबद्ध रुपमा दबावमूलक कार्यक्रम गर्दै आएको संयुक्त युवा विद्यार्थी संघर्ष समितिले जिल्लाका सम्पुर्ण सरकारी कार्यालय, बजार, व्यवसाय, यातायात, शैक्षिक संस्थाहरु बन्द गरिने गरिएका छन् ।

संयुक्त युवा विद्यार्थी संघर्ष समिति महेन्द्रनगरले गरेको बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको छ । सदरमुकामदेखि छुट्ने सवारी साधन ठप्प भएका छन् । भने स्कुल, कजेललगायत सरकारी कार्यालय समेत बन्द भएका छन् ।

आन्दोलनरत विद्यार्थी बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिँडेका छन् । सार्वजनिक तथा निजी सवारी साधन ठाउँको ठाउँमा रोकिएका छन्। आन्दोलनकारीले सवारी साधनका साँचो थुतेर रोकेका छन् ।

अनिश्चितकालिन बन्द आह्वान गरिएपछि बिहानैदेखि महेन्द्रनगरको जनजीवन प्रभावित भएको छ । अत्यावश्यक काममा हिँडेका सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट आएका मानिस बन्दका कारण बीच बाटोमा अलपत्र परेका छन् ।

चरणबद्ध आन्दोलन गरिरहँदा समेत सरकारले आफूहरुको माग सम्बोधनमा कुनै चासो नदेखाएकाले अन्तिम निर्णायक आन्दोलन स्वरुप अनुसार अनिश्चितकालिन आमहड्ताल गरिएको अनेरास्ववियुका नेता कमल रोकायाले बताए ।

नगर विकास समितिको स्वामित्वमा रहेको जमीनको अवैध लिज खारेजी, मापदण्ड विपरित निर्माण गरिएका संरचनाहरु भत्काउने, कानूनी प्रक्रिया नर्पुयाई आफूखुसि जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारी र कर्मचारीहरुलाई कारवाही तथा नगर विकासको सार्वजनिक जमीनमा भइरहेको अतिक्रमण रोक्नु पर्ने उनिहरुको माग छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैध संरचना हटाउन अन्यथा आफै हटाउने भनि जारी गरेको एक महिने आदेशको म्याद समाप्त भएपनि प्रशासनले कुनै कदम चालेको छैन् । प्रशासनको एक महिने समयावधीमा घरधनीहरुले आफ्नो सर–समान नउठाएकाले शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना ईकाइ कार्यालयले लगत संकलन कार्य गरिरहेको जनाएको छ ।

यस्तै शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना ईकाइ कार्यालयले पनि अवैध संरचना हटाउन तथा सर–समान उठाउन अन्यथा राज्यले नै हटाउने सूचना जारी गरेको छ । यद्यपी उक्त सूचनाको अवधी कति हो, त्यस बारे सूचनामा कुनै प्रष्ट पारिएको छैन । विभिन्न बहाना झिकेर प्रशासन अवैध संरचना हटाउने आदेशबाट पछाडि हट्ने संकेत गरिरहेकाले जिल्लामा क्रियाशिल संयुक्त युवा तथा विद्यार्थी संगठनहरुले अनिश्चितकालिन आमहड्ताल गरेका छन् ।

अवैध लिजमा खडा गरिएका संरचना हटाउनु पर्ने माग गर्दै एक महिनादेखि आन्दोलनमा रहेका युवा तथा विद्यार्थीहरुले यस अघि महेन्द्रनगर बजार क्षेत्रका अवैध संरचनामा रातो चिन्ह लगाउने, सरोकारवालासँग अन्तक्रिया तथा छलफल गर्ने, खुला बहस र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेका थिए ।