जनतासँग जनप्रतिनीधिः सरकारसँग स्थानीयको सवाल–जवाफ

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

–जनताका मत लिएर जितेकाहरुले पार्टीको राजनीति गरिरहेका छन् । नगरसभाजस्तो पद्धती र प्रणाली नै बहिष्कार भएको भनेर पत्रकार सम्मेलन नै भयो । कार्यपालिका सदस्यहरु पद्धती र प्रणाली नै बहिष्कार गर्ने, मेयर उपमेयर सडकमै पत्रकार सम्मेलन गर्ने । अब नगरवासीले कोसँग आशा गर्ने ?

– गाउँमा सिहँदरवार आयो भनियो, यहाँ त रानीपोखरी नै आएको झैं लाग्छ । ढल थुनिएर बजारमै आहल छ, दुर्गन्ध सहेर बस्नुपरेको छ । हामीले कहिले सम्म यो दुर्गन्ध सहेर बस्नुपर्ने ?

– सडक सुधार गर्नका लागि ५ लाख बजेट छुट्याइयो, वडाध्यक्षले ३ दिन डोजर लगाएर अरु केहि काम भएन । ३ दिन डोजर लगाएर ५ लाख रुपियाँ बजेट सकिन्छ ?

– मध्यभोटेकोसी जलविद्युत आयोजनाले जथाभावी मक फाल्दा खोलाको सतह बढिरहेको छ, बाह्रविसे बजार नै जोखिममा परेको छ । मेयर साप आयोजनाको यो लापर्वाही रोकिदिनुस् ।

साताअघि बाह्रविसे नगरपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रतिनीधि जनसवाल हुन् यी । नगर सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित स्थानीय अगुवाहरुका सामु स्थानीयले समस्या र गुनासाका यी यस्तै आवाज ओकले । स्थानीयले चुनाव जितेर पनि कार्यपालिका सदस्यहरुले प्रतिपक्षको भुमिका खेलेको देखि महभीरमा नगरपालिकाले अव्यवस्थित रुपमा फोहोर फाल्दा आसपासमा दुर्गन्ध फैलिएकोसम्म आवाज उठाए ।

भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि विद्यालयको भवन बन्न नसकेको गुनासो कार्यक्रममा गुञ्जियो । बजारमै ढल थुनिँदा बाह्रविसे बजारका स्थानीयले आफुहरु दुर्गन्धमा बस्नुपरिरहेको आवाज उठाए । ‘गाउँ गाउँमा सिँहदरवार भनेको त रानीपोखरी नै आए झैं भयो’, स्थानीय सीता कुथुले ब्यंगात्मक शैलीमा भनिन्,–‘बजारमै ढल थुनिएर आहाल बनेको छ, नगरपालिकाले ढल निकाश कहिले गर्छ ?’ नगरपालिकाले महभीरमा फोहोर फाल्दा दुर्गन्ध फैलिइरहेको भन्दै स्थानीय शुरेस तिमल्सिनाले ‘ठाउँ पहिचान गरेर डम्पिङसाईड’ निर्माण गर्नुपर्नेमा जोड दिए ।‘फोहोरमैलाको व्यवस्थापनमा नगरपालिकाले ध्यान दिएन, महभीरमा खोलामै फोहोर फलिएको छ’, उनले भने ।

भूकम्पपीडित लाभग्राहीमा नाम छुट भएर गुनासो दर्ता गरेको भएपनि हालसम्म सुनुवाई नभएकोमा स्थानीयले चिन्ता ब्यक्त गरे । नाम छुट हुँदा बास्तविक पीडितहरु नै अनुदानबाट बञ्चित भइरहेको आवाज सुनियो । ‘नाम छुट भएपछि गुनासो दर्ता गरियो तर अहिलेसम्म सुनुवाई भएन’, मेयर निमफुञ्जो शेर्पाका सामु स्थानीय नेत्रबहादुर थापाले गुनासो गरे, –‘नाम छुट भएका बास्तविक भूकम्पपीडितले अनुदान कहिले पाउँछन् ?’

नगरपालिकाले कर्मचारीका तलव र सेवासुविधा बढाएको भएपनि शिक्षकहरुलाई सेवा सुविधाका सवालमा नसमेटेको आजाज पनि प्रतिनीधि रुपमा शिक्षकहरुले उठाए । ‘कर्मचारी भनेको नगरपालिकामा काम गर्ने मात्रै हैनन्, हामी शिक्षकहरु पनि यहि नगरपालिकाकै कर्मचारी हौं’, एक शिक्षकले भने,–‘शिक्षकहरु नगरपालिकाका कर्मचारी नै होईनन् जस्तो ठानिएको छ ।’ भूकम्पपछि जिल्लाका अधिकांश विद्यालयमा भव्य भवन बनिरहेपनि आफुहरुले टहरामै पठनपाठन गर्नुपरेको मानेश्वाँरास्थित जयगोल्मा आधारभुत विद्यालयकी प्रअ रन्जना तिमल्सिनाले सुनाईन् । ‘अन्यत्र ठूला ठूला भवन ठडिए, हामीले टहरामै पढाइरहेका छौं’, उनले भनिन,–‘ मेयर साप, जग्गा नहुँदा विद्यालयको भवन बनाउन सकिएन ।’

कार्यक्रममा सहभागी स्थानीयका जनगुनासा सुनिसकेपछि मेयर, उपमेयर, वडाध्यक्षहरु र नगरपालिकाका प्रशासकीय अधिकृतले उठेका सवालको जवाफ दिएका थिए । निर्वाचनमा कुनै दल विशेषबाट उमेदवार बनेपनि विजयी भएपश्चात आफूहरु सवै जनताको प्रतिनीधि बनेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

‘आज प्रत्यक्ष रुपमा तपाइँहरुसँग आमने सामने भएर गुनासा सुनें, तपाइँहरुका सुझावका आधारमा हामी प्रभावकारी कार्यसम्पादनमा लाग्नेछौं’, मेयर शेर्पाले भने । स्थानीय जनताका लागी नगरपालिकाले विकट बस्तिहरुमा सेवा लिएर पुगिरहेको भन्दै उनले जनताका सेवामा जनप्रतिनीधिहरु खट्नुपर्ने बताए ।

‘सेवा लिएर गाउँ गाउँमा गयौं, मेयर र उपमेयरका लागि हैन त्यो त जनताकै लागि थियो’, उनले भने । बाह्रविसे बजारको ढल निकासका लागि वडाले नै काम गर्नुपर्ने भन्दै वडाले नगरेको खण्डमा नागरपालिकाले यथासिघ्र ढल निकाश गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे । ‘खोलामै घर बनाएर वर्षैादेखिको निकाश थुनिएको छ, कोहीकसैको व्यक्तिगत स्वार्थ पनि हुनसक्छ’, मेयर शेर्पाले भने,–‘तत्काल केहि दिनभित्रै ढल निकाश गर्नेछौं ।’ मध्यभोटेकोसीले जथाभागी मक फाल्दा खोलाको सतह बढेपछि नगरपालिकाले सुनकोसीदेखि खुर्सानीवारीसम्मका ढुंगा पन्छाउने निणर्य गरिसकेको उनले बताए ।

निर्वाचनको पहिलो वर्ष जनअपेक्षा अनुसार काम गर्न नसकीएको भन्दै उनले फोहोरमैला व्यवस्थापनका लागी डम्पीङसाईड खोजी भइराखेको सुनाए । समिति बनाएर धेरै अध्ययन ग¥यौं, उपयुक्त ठाउँ खोजी गर्दैछौं’, मेयर शेर्पाले भने,––केहि ठाउँ प्रस्ताव भएका छन्, प्रस्ताव भएकामा पनि कुन चैं उपयुक्त हुन्छ भनेर छलफल गरिरहेका छौं ।’ विकास कार्यक्रम बजारकेन्द्रित भइरहेको गुनासो सुनेपछि मेयर शेर्पाले क्रमिक रुपमा विकास योजनाहरु गाउँ केन्द्रित भइरहेको बताए । ‘गाउँका विद्यालय, स्वास्थ्यसंस्था र संवेदनशील ठाउँहरुमा अब हामी सीसी क्यामेरा राख्दैछौं’, उनले भने ।

कार्यक्रममा सहभागी स्थानीयले उठाएका सवालको जवाफ दिँदै उपमेयर शुशिला पाख्रिनले जनभावना र चाहना अनुसार नै बाह्रविसेको विकासमा आफुहरु लागिपर्ने बताईन् । वडाध्यक्ष बमबहादुर तामाङ, कामी शेर्पा, ज्ञानेन्द्र श्रेष्ठले आफ्ना सवालमा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले प्रशासनिक संयन्त्रसँग सम्बन्धित सवालहरुको जवाफ दिए ।

स्थानीय सरकार गठन भएको डेढ वर्षपछि सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै जन गुनासो सम्बोधनको प्रयास गरेको बाह्रविसे नगरपालिकाकी उपमेयर शुशिला पाख्रिनले बताईन् । ‘जनताका रचनात्मक सुझावकै आधारमा हामी अघि बढ्ने हो, शुसासन, पारदर्शीता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाईले ठूलो सघाउ गर्नेछ’, उपमेयर पाख्रिनले भनिन् ।