गंगा बराल, काठमाडौं
नेपाली कांग्रेसका सांसदहरूको विरोधका बीच राष्ट्रि«य सभाको सोमबारको दोस्रो बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ। विचार गरियोस् भन्ने प्रस्तावमाथि कुनै पनि सांसद्ले छलफलमा भाग नलिएपछि विधेयक सर्वसम्मतले पारित भएको हो।
कांग्रेस सांसदहरूले रोस्टर्म घेरेर नाराबाजी गरिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि विचार गरियोस् भन्ने उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
मन्त्री रोस्टर्ममा आएपछि कांग्रेस सांसदले घेरेका थिए। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसदको अवरोधकै बीच यो विधेयक पारित भएको थियो।
बैठक शुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध जनाएका थिए। पहिलो बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले आफ्ना नेताका नाममा खोलिएका अस्पताललाई संघमा नराख्ने सरकारको निर्णय आफूहरूलाई मान्य नभएको बताउनुभएको थियो।
पहिलोपटक १५ मिनेट र दोस्रोपटक आधा घन्टाका लागि बैठक स्थगित गरिएको थियो। अध्यक्ष तिमिल्सिनाले पटक–पटक कांग्रेस सांसद्लाई बस्न आग्रह गरे पनि उनीहरू उठेर लगातार नाराबाजी गरेका थिए।
बैठकमा रहेका अन्य विधेयक प्रस्तुत गर्ने कार्यक्रम कार्यसूचीबाट हटाइएको थियो।
बैठकमा शिक्षामन्त्रीसहित, अर्थमन्त्री, शहरी विकासमन्त्री, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री, वन तथा वातावरणमन्त्री उपस्थित भएका थिए।
कांग्रेस सांसदहरूले संसदीय मर्यादा कायम गर्, नेताका नाममा खोलिएका अस्पताल सुचारु गर्, संसद्भित्रको बलजफ्ती बन्द गर् भन्दै चर्को नाराबाजी गरेका थिए।
सांसद् अधिकारीले डा। गोविन्द केसीलाई अहिलेसम्म मन्त्री र कोही पनि सरकारी प्रतिनिधिले नभेटेको भन्दै सरकारले यस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गरिरहेकामा सरकारको ध्यानाकर्षण गर्नुभयो।
उहाँले केसीको मात्र होइन सरकारको पनि स्वास्थ्य बिग्रिएको टिप्पणी गर्नुभयो। अधिकारीले केसीको ९५ प्रतिशत माग पूरा गरेको भनिए पनि बाँकी ५ प्रतिशत नै मुख्य कुरा भएको भन्दै अरू योजनामा पनि ९५ प्रतिशत पूरा भएर त्यही ५ प्रतिशत बाँकी रहँदा नेपालमा धेरै आयोजनाहरू अलपत्र भएको बताउनुभयो।
राष्ट्रियसभाको बैठक बिहीबार २ बजे र प्रतिनिधिसभाको बैठक बिहीबार १ बजे बोलाइएको छ।
उता भन्दा यता सजिलो
प्रतिनिधिसभामा भन्दा राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न मन्त्रीलाई सजिलो भएको छ।
प्रतिनिधिसभाको गत मंगलबारको बैठकमा कांग्रेस सांसदहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बाटो छेकेपछि उहाँले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ प्रस्तुत गर्न पाउनुभएको थिएन।
प्रतिनिधिसभामा भने मन्त्री छेक्न सजिलो छ तर राष्ट्रिय सभामा भने मन्त्री बस्ने स्थान र प्रमुख प्रतिपक्षी दलका सांसद बस्ने स्थान ठीक वारि र पारि भएकाले हत्तपत्त छेक्न सक्ने सम्भावना देखिँदैन।
मन्त्री बसेको ठाउँ र रोस्टर्म सँगै भएकाले पनि मन्त्रीलाई सजिलो भएको हो। कांग्रेस सांसदहरू रोस्टर्मको बीच भागसम्म आइपुग्दा मन्त्री रोस्टर्म पुगिसकेका हुन्छन्।











प्रतिक्रिया