काङ्ग्रेस बैठकमा सरकारका कामबारे छलफल

0
Shares

काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारका कामकारवाही सम्बन्धमा गम्भीर रुपमा छलफल गरेको जनाएको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा केन्द्रीय सदस्य कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा संवैधानिक परिषद्बाट केही संवैधानिक आयोगमा सिफारिश भएका व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची सम्बन्धमा पार्टीका तर्फबाट राखेका धारणाका बारेमा जानकारी गराउनुभएको थियो । काङ्ग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक राखेको र केही निर्णय गरेको भन्दै सो कार्यको विरोध जनाउँदै आएको छ ।

त्यस्तै केन्द्रीय सदस्य पाण्डेले राष्ट्रियसभाको आजको बैठकमा प्रतिपक्षी दलको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक सरकारले टेबुल गरेकोबारे बैठकलाई अवगत गराउनुभएको राससलाई जानकारी दिनुभयो । काङ्ग्रेसले सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल वर्तमान सरकारले विघटनको प्रक्रियामा पु¥याएको आरोप लगाउँदै सङ्घीय संसद्का बैठक अवरुद्ध गर्दै आएको छ ।

केन्द्रीय सदस्य थापाले आफू स्वास्थ्य मन्त्री हुँदा सुशील कोइरालाको नाममा बाँकेमा क्यान्सर अस्पताल खोल्ने सम्बन्धमा भएका कामबारेमा बैठकलाई जानकारी गराउनुभएको थियो । काङ्ग्रेसले २००७ सालदेखि पार्टीमा सक्रिय जनकपुरका श्रीराम चौधरीको गत शनिबार काठमाडौँमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते दिनको १ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
रासस