राष्ट्रसंघ स्थायी प्रतिनिधीमा राई सर्वसम्मत्

0
Shares

काठमाडौं, (नेस) ।

संसदीय सुनुवाई समितिले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा सिफारिस हुनु भएका अमृतबहादुर राईको नाम सर्वसम्म्त रुपमा अनुमोदन गरेको छ ।

सोमबारको समितिको बैठकले परराष्ट्र मन्त्रालयका सह–सचिव राईलाई सो जिम्मेवारीका लागि सर्वसम्मत् रुपमा अनुमोदन गरेको हो । गत पुस २७ गतेको मन्त्रीपरिषद बैठकले राईलाई राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो ।

उहाँको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी राष्ट्र संघको प्रतिनिधिका लागि अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । राई यस अघि दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । उहाँको कार्यकाल सकिनु अगावै सरकारले गत कार्तिक २५ गतको मन्त्रीपरिषद् बैठकले फिर्ता बोलाएको थियो ।

समितिको सोमबारको बैठकमा सांसदहरुले उठाएको जवाफ दिदै राईले ठूला राष्ट्रले हतियार खरिदका लागि गर्ने खर्च गरिवी, अभाव र भोकमरी अन्त्यमा प्रयोग गर्न आफूले राष्ट्र संघमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै साना राष्ट्रको पनि ठूला राष्ट्र सरहको सार्वभौम समानताको अधिकार प्राप्तीमा अन्तर्राष्ट्रिय जगत र अन्य सरोकारवालाको ध्यानाकर्षण गर्ने उहाँले बताउनुभयो ।

राष्ट्रसंघीय नियोगका लागि सिफारिस स्थायी प्रतिनिधीलाई एग्रिमो आवश्यक नपर्ने भएकाले राईलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने प्रावधान छ ।