जिल्ला समन्वयमा कर्मचारी अभाव

0
Shares

धनवीर दाहाल,रुकुम ।
जिल्ला समन्वय समितिको कार्यालय रुकुम पश्चिममा लामो समयदेखि कर्मचारीको अभाव रहेको छ । कार्यालयमा निजामति तर्फका कर्मचारी नहुनु, स्थानीय निकाय अन्तर्गतका कर्मचारीहरु पनि जिल्ला विभाजन हुँदा रुकुम पूर्व र पश्चिममा बाँडिएको र ती कर्मचारी पनि स्थानीय तहमा गएपछि कर्मचारी अभाव भएको हो ।

कार्यालयमा कर्मचारी नहुँदा संक्रमणकालीन अवस्थामा गर्नुपर्ने विभिन्न कामहरु प्रभावित भएका छन् । कर्मचारी अभावले जिल्लाका विभिन्न विषयगत कार्यालय र संरचनाहरु खारेज भएपछि ती कार्यालयका सबै भौतिक सामाग्रीहरु बुझ्ने तथा स्थानीय तहमा वितरण गर्ने जस्तो महत्वपूर्ण काममा समेत समस्या भएको छ ।

अहिले कार्यालयमा एकजना लेखापाल मात्र पूर्णकालीन कर्मचारीको रुपमा कार्यरत रहेको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय अधिकारी कार्यरत भएपनि पूरा समय मुसीकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न थालेको एकवर्ष बढि भइसकेको छ ।

कार्यालयमा यसअघि स्थानीय निकाय अन्तर्गत नियुक्ति पाएका कर्मचारीहरुलाई स्थानीय तहमा पठाउने र जिल्ला समन्वय समितिमा संघले कर्मचारी पठाउने बताइएको छ । उक्त निर्णयपछि स्थानीय निकाय अन्तर्गत एकजना इन्जिनियर, एकजना नायव सुब्बा र एकजना कार्यालय सहयोगी जिम्मेवारी विहीनजस्तै बनेको इन्जिनियर पहलबहादुर पुनले बताउनुभयो । केन्द्रको पत्र पाउनासाथ आफूहरु सम्बन्धित स्थानीय तहमा जाने उहाँको भनाई छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको कर्मचारी संगठन संरचनामा जिससका लागि एकजना उपसचिव स्तरको जिल्ला समन्वय अधिकारी, एकजना शाखा अधिकृत, एकजना इन्जिनियर, एकजना सब इन्जिनियर, एकजना नायब सुब्बा, एकजना लेखापाल, एकजना खरिदार, तीनजना कार्यालय सहयोगी र तीनजना सवारी चालक रहने व्यवस्था गरिएको छ ।

यसका अलावा जिसस प्रमुखको स्वकीय सचिव प्रयोजनका लागि एकजना नायब सुब्वा सरहको कर्मचारी पनि नियुक्ती गर्नसक्र्ने व्यवस्था छ । यति दरबन्दी भएपनि एकजना लेखापालको भरमा कार्यालय सञ्चालन गर्दा नियमित कामहरु समन्वय, सहजिकरण र अनुगमनको काम प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले बताउनुभयो ।

कर्मचारी समायोजनपछि यो समस्या समाधान हुनेमा आशावादी रहेको भन्दै अनुगमनको प्रभावकारिता बढाउन दक्ष प्राविधिक कर्मचारीको समेत व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यसका साथै ३ जना सवारी चालकको दरवन्दी भएपनि जिससमा एउटा पनि गाडी नभएको जिसस प्रमुख शर्माले बताउनुभयो ।

गाडी नहुँदा जिल्लाभित्रका अनुगमनका काम र कार्यालय कामको लागि जिल्ला बाहिर जान समेत समस्या हुने गरेको उहाँको भनाई छ । यसअघि जिविस हुँदाको पूरानो गाडी अहिलेसम्म मर्मत हुन नसकेको र जिल्ला प्राविधिक कार्यालयको गाडी प्रयोग गर्दै आएकोमा उक्त गाडी समेत विग्रँदा समस्या भएको जिससले जनाएको छ ।