गंगा बराल, काठमाडौं ।
नेपाली कांग्रेसका सांसदहरुको विरोधका बीच राष्ट्रि«यसभाको सोमबारको दोस्रो बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ । विचार गरियोस् भन्ने प्रस्तावमाथि कुनै पनि सांसद्ले छलफलमा भाग लिएनन् ।
कांग्रेस सांसदहरुले रोस्टर्म घेरेर नाराबाजी गरिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभामा कांग्रेसका १३ जनामात्र सांसद् छन् । पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त यो विधेयक टेबुल गर्नुभएको थियो । दोस्रो बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा देखिएका समस्याको समाधान नगर्ने भन्दै विधेयकको विरोधमा बोल्दै संसद सुचारु गर्न नसकिने बताउँदा बताउँदै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीलाई विधेयक प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । मन्त्री रोस्टर्ममा आएपछि कांग्रेस सांसदहरुले रोस्टर्म घेरेका थिए । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि कांग्रेस सांसदको अवरोधबीच यो विधेयक पारित भएको थियो । राष्ट्रियसभामा विधेयकमाथि संशोधन हाल्ने समय दिइएको छ ।
बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । पहिलो बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले आफ्ना नेताका नाममा खोलिएका अस्पताललाई संघमा नराख्ने सरकारको निर्णय आफूहरुलाई मान्य नभएको बताउनुभएको थियो । पहिलोपटक १५ मिनेट र दोस्रो पटक आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । अध्यक्ष तिमिल्सिनाले पटकपटक कांग्रेस सांसद्लाई बस्न आग्रह गरेपनि मानेका थिएनन् ।
बैठकमा रहेका अन्य विधेयक प्रस्तुत गर्ने कार्यक्रम कार्यसूचीबाट हटाइएको थियो । बैठकमा शिक्षामन्त्रीसहित, अर्थमन्त्री, शहरी बिकासमन्त्री, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री, वन तथा वातावरणमन्त्री उपस्थित थिए । कांग्रेस सांसदहरुले संसदीय मर्यादा कायम गर्, नेताका नाममा खोलिएका अस्पताल सुचारु गर्, संसद्भित्रको बलजफ्ती बन्द गर् भनेर चर्को नाराबाजी गरेका थिए ।
सांसद् पाण्डेले आफूहरुलाई सबै गतिविधि थाहा भएको र प्रतिनिधिसभामा पनि विधेयक जवरजस्ती पारित गरिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद् अधिकारीले डा. गोबिन्द केसीलाई अहिलेसम्म मन्त्री र कोही पनि सरकारी प्रतिनिधिले नभेटेको भन्दै सरकारले यस्तो संवेदनशिल विषयमा हेलचेक्रयाँई गरिरहेकोमा सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले केसीको मात्र होइन सरकारको पनि स्वास्थ्य बिग्रिसकेको टिप्पणी गर्नुभयो । अधिकारीले केसीको ९५ प्रतिशत माग पूरा गरेको भनिएपनि बाँकी ५ प्रतिशत नै मुख्य कुरा भएको भन्दै अरु योजनामा पनि ९५ प्रतिशत पूरा भएर त्यही ५ प्रतिशत बाँकी रहँदा नेपालमा धेरै आयोजनाहरु अलपत्र भएको बताउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक बिहीबार २ बजेर प्रतिनिधिसभाको अर्को बैठक बिहीबार नै १ बजे बोलाइएको छ ।











प्रतिक्रिया