कांग्रेसद्धारा देशव्यापी आन्दोलन घोषणा

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसले सरकारविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने भएको छ । सरकारको कदमविरुद्ध सदन र सडक आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको कांग्रेसले यही माघ २१ गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।

भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक तताइरहेको बेला पार्टी केन्द्रीय समितिको समेत निर्णयले आन्दोलन सशक्त हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले २१ गते ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेसको विरोध प्रदर्शन मुख्य गरी अनशनतर डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने, कांग्रेसका नेताहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको स्वास्थ्य संस्थासंघ मातहतमा राख्नुपर्ने, प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिविना संवैधानिक परिषद्को बैठक राखी निर्णय गर्न नहुने, निर्मला पन्तको बतात्कार र हत्यामा संलग्न अपराधीलाई कारबाही गर्नुपर्नेलगायतका मुद्दामा केन्द्रित रहने प्रवक्ता शर्माले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा नै भएको सम्झौताविपरीत प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दलको चर्को विरोधका बाबजुत पनि जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. केसीको अनशनप्रति संवेदनहीन व्यवहार प्रकट भएकोप्रति कांग्रेस रुष्ट छ । साथै कांग्रेसले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई नामेट गर्न सरकारले दुष्प्रयास गरेको आरोप पनि लगाइरहेको छ ।

कांग्रेसले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको उपस्थितिविना संवैधानिक परिषद्को बैठक राखी नियुक्तिका लागि गरिएको निर्णयहरु लोकतान्त्रिक मूल्य र परम्पराविपरीत भएको जनाउँदै आएको छ । केही दिनअघि संवैधानिक परिषद्को बैठक बसी केही संवैधानिक निकायका प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

देशव्यापी रुपमा बढेको हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको भन्दै कांग्रेसले निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना बितिसक्दा पनि दोषी पत्ता नलगाई निर्दोषलाई दोषी ठह¥याउने षड्यन्त्रमा सरकार लागेको म्रमुख प्रतिपक्ष दलले आरोप लगाएको छ । माघ २१ गतेको देशव्यापी विरोध प्रदर्शन महँगी, भ्रष्टाचार र अन्य जनविरोधी निर्णयविरुद्ध पनि रहेको प्रवक्ता शर्माले बताउनुभयो ।

राष्ट्रिय राजनीतिमा केन्द्रित रहेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको आन्तरिक गतिविधिबारे छलफल र निर्णय गरेको छैन । विघटनको संघारमा रहेको भ्रातृ संगठन नेविसंघको म्याद थप्ने वा तदर्थ समिति बनाएर १२औं महाधिवेशन गर्ने भन्ने बारेमा कांग्रेस बैठकले तत्काल निर्णय गर्नुपर्ने बाध्यता छ । साथै हालै महासमिति बैठकबाट पारित विधानलाई महासमितिको सुझावअनुसार संशोधन गरी केन्द्रीय समितिले अनुमोदन गर्न पनि बाँकी छ ।

संविधानले व्यवस्था गरेको नयाँ संरचनाअनुसार नै कांग्रेसले विधान संशोधन गरेको छ । कांग्रेस बैठक आज सोमबार पनि जारी रहने प्रवक्ता शर्माले बताउनुभयो ।