सीताराम अधिकारी, धादिङ ।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न.ं ४ हिन्दुङनजिकै आइतबार गएको पहिरोमा दुई गोठालासहित २ सय ५० भेडाबाख्रा पुरिएका छन् ।
हिन्दुङ गाउँभन्दा भन्दा तलको ओडारमा हिउँ परेपछि आएको पहिरोले गोठालासहित २ सय भेडा र ५० वटा बाख्रा पुरिएर हराइरहेको जिल्ला प्रहरी प्रमुख एस पि डम्बरबहादुर बिकले जानकारी दिनुभयो ।
२ दिनअघिदेखि हिउ परेर केही उघ्रीएपछि सोही गाउँका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ भेडाबाख्रा चराउन गएका थिए । हिउँ परेपछि ओडारभित्र बसेका थिए । पहिरोले चेपिएर केही भेडाबाख्रा मरेको देखिए पनि अन्य भेडा र तामाङद्वयको अवस्थाबारे जानकारी नभएको प्रदेशसभा सदस्य जगत सिंखडाले घटनास्थलबाट सदरमुकाम फर्केपछि बताउनुभयो ।
ओडार ठूलो भएकाले उनीहरू ओडारभित्र बसेको भए सुरक्षित हुनसक्ने प्रहरीको अनुमान छ ।
यसैबीच प्रदेशसभा सदस्य सिंखडा, पूर्व गृहमन्त्री बुद्धिमान तामाङ र सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल घटनास्थलबाट फर्केपछि बसेको जिल्ला दैबि प्रकोप उद्धार समितिको बैठकले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोली खटाउने निर्णय गरेको छ ।
घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा छ । हिडेर जान नसक्ने भएकाले उद्धार सामग्री र ड्रिल मेसिनसहित उद्धारकर्मी पठाउन गृह मन्त्रालयसँग हेलीकप्टर माग गरिएको छ । गृहमन्त्रालयको आदेशपछि सोमबार बिहानैदेखि उद्धार थालिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।











प्रतिक्रिया