काठमाडौ महानगरपालिको निर्णय: आउँदो शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागु गरिने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि ५ स्थानीय तहको पाठ्क्रम निर्माण गरी लागु गर्ने भएको छ । महानगरका निजी र सामुदायिक सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो ।

कामपा शिक्षा समितिको केही दिन अघि बसेको बैठकले स्थानीय पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको हो । कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले स्थानीय तहले निर्णय गरे अनुसार पाठ्यक्रम निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

उहाले भन्नुभयो–स्थानीय तहको नया पाठ्यक्रम निर्माण प्रकृया शुरु गरिसकेका छौं, आउँदो शैक्षिक सत्र २०७६ देखि महानगर भित्र रहेका निजी तथा सामुदायिक विद्यालयलमा नयां पाठ्यक्रम लागु हुने भएको छ ।

स्थानीय पाठ्यक्रम अनुसार प्राथमिक पाठ्यक्रम कक्षा १–३ २०६२, कक्षा ४ र ५ २०६५ र कक्षा ६–८ २०६९ मा जारी गरेको स्थानीय पाठ्यक्रममा स्थानीय, मातृ वा अन्य कुनै भाषामा अध्यापन गराउने व्यवस्था उल्लेख गरिएको थियो । तर अधिकांस विद्यालयले स्थानीय पाठ्यक्रममा पठन पाठन शुरु नगरेपछि कामपाले आधारभूत तह कक्षा १–८मा स्थानीय भाषामा अध्यापन शुरु गराउन लागेको छ ।

नेपाल भाषा, दिगो विकास, वातावरण, सम्पदा र कला संस्कृति, ट्राफिक व्यवस्थापन लगायतका विषयमा पाठ्यक्रम निर्माण गरिने भएको छ ।
पाठ्यक्रम निर्माण गर्ने विषयमा छलफल गरिसकेका छौ, विज्ञ टोली छनौट गरी पाठ्यक्रम बनाउने कामका लागि अन्तिम तयारीमा छौ–प्रमुख कोइरालाले भन्नुभयो ।

कामपाले अनिवार्य र एच्छिक विषय बाहेक एउटा विद्यालयले सय पूर्णाङको स्थानीय पाठ्यक्रमको विषय पढाउनुपर्ने व्यवस्था गर्न लागेको हो ।

सरकारले नया पाठ्यक्रम अनुसार अध्यापन गराउदा शारिरीक, सामाजिक र सिर्जनात्मक कला विषयका २० बांकी अन्य विषयमा ८० पुर्णाङक बढाउनुपर्ने व्यवस्था गरिने भएको छ । ८० प्रतिशत संघीय र २० प्रतिशत स्थानीय विषय पढाउन पर्ने व्यवस्था गर्न लागिएको उहांले जानकारी दिनुभयो । तर महानगर मात्रै होइन देरभरका विद्यालयले यो व्यवस्था लागू गरेका छैनन । अनुगमन गर्ने निकाय मौन देखिदा कुन विद्यालयमा कस्तो पाठ्यक्रम पढाइरहेका छन भन्ने विषयमा हालसम्म ठोस जानकारी छैन ।

अब आउँदो शैक्षिक सत्रदेखि स्थानीय विषय वस्तु,स्थानीय सहभागिता र ज्ञानको प्रयोग र स्थानीय सामाग्री प्रयोग गरी पाठ्यक्रम निर्माण गर्नुपर्ने गरी नयां पाठ्यक्रम लागु गर्न गृहकार्य शुरु गरेका छौ–कोइरालाले भन्नुभयो ।
उहाले यो व्यवस्थालाई निजी र समदायीक विद्यालयमा कडाईका साथ पालना गर्न लगाउने उद्धेश्यले नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रुपमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको बताउनुभयो ।

कामपाले पाठ्यक्रम निर्माण गर्न स्रोत केन्द्र मार्फत विभिन्न विद्यालयका विषय शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानअध्यापक,निजी विद्यालयको संगठन, सामुदायीक विद्यालयका संगठन अभिभावक र विषयविज्ञसंग छलफल शुरु गर्ने जनाएको छ ।

कामपा शिक्षा समितिका सदस्य गोपाल आचार्यले स्थानीय पाठ्यक्रम अध्ययनले विद्यार्थीको पढाइ स्तरमा बृद्धी भइ स्थानीय विकासको बारेमा सजिलै जानकारी हुने बताउनुभयो । सबै विद्यालयले सबै विषयमा स्थानीय पाठ्यक्रम पढाउनुपर्दैन,एउटा विषय मात्र पढाए पुग्छ–कोइरालाले भन्नुभयो । विभागले पाठ्यक्रम निर्माण गर्न करिब ६ लाख रुपिया बजेट छुट्टयाएको छ ।

स्थानीय पाठ्यक्रम लागू भएपछि विषय अनुसार सबै निजी विद्यालयले पठन पाठन शुरु गर्ने शिक्षा समितिका सदस्य आचार्यले जानकारी गराउनुभयो ।
विभागले करिब तीन महिना अघि सार्वजनिक गरेको शिक्षा सोचको बुदा नम्बर १ मा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयनमा संस्थागत क्षमता विकासका लागि स्थानीय पाठ्यक्रम प्रारुप २०७१ को परिधिभित्र रही विभिन्न संघ संस्थासंग प्राविधिक तथा आर्थिक सहयोगका लागि समन्वय गरिने उल्लेख छ । कामपा भित्र ९१ सामुदायीक र ६ सय ४३ निजी विद्यालय संचालनमा छन् ।